प्यूठान । प्यूठान नगरपालिकाको न्यायिक समितिले आफ्नो कामलाई प्रभावकारी बनाउन सक्रियता देखाएको छ । समितिमा दर्ता भएका विवादहरूलाई मेलमिलापको माध्यमबाट समाधान गर्दै देशकै उत्कृष्ट न्यायिक समिति बन्ने लक्ष्यका साथ काम गरिरहेको समितिका संयोजक तथा नगर उप–प्रमुख देवेन्द्र वर्माले जानकारी दिए ।
उनका अनुसार न्यायिक समितिमा दर्ता भएका १९६ मुद्धामध्ये १७० वटा विवाद मेलमिलापबाट टुंगो लगाइएको छ । मानाचामल र ज्यालामजदुरी सम्बन्धी दुई वटा मुद्धा भने फैसलाबाट टुंग्याइएको र २४ वटा विवाद प्रक्रियामा रहेको उनले बताए ।
बुधबार पत्रकार भेटघाट कार्यक्रममार्फत नगरपालिकाले समितिको कामको विवरण सार्वजनिक गरेको हो । समितिमा आउने विवादमध्ये करिब ४० प्रतिशत लैंगिक हिंसा र घरेलु हिंसासँग सम्बन्धित रहेको उनले बताए ।
न्यायिक समितिले मनोसामाजिक परामर्श सेवा पनि उपलब्ध गराउँदै आएको छ । तथापि, आम नागरिकमा समितिबारे जानकारीको अभाव, जनशक्ति र स्रोत–साधनको सीमितताका कारण कामलाई अझ प्रभावकारी बनाउन चुनौती रहेको संयोजक वर्माको भनाइ छ ।

