प्युठान। लुम्बिनी प्रदेश सरकार अन्तर्गतको शहरी विकास तथा खानेपानी मन्त्रालय आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन मूल्याङ्कनमा उत्कृष्ट घोषित भएको छ। मन्त्रालयले उक्त आर्थिक वर्षमा ८४.५५ प्रतिशत वित्तीय प्रगति गर्दै सबैभन्दा उत्कृष्ट प्रदर्शन गरेको हो।
मन्त्रालयका प्रवक्ता इन्जिनियर गुणानिधि पोखरेलका अनुसार नेपाली कांग्रेसका तर्फबाट मन्त्री सरोज थापा (रोज राणा) को नेतृत्वमा मन्त्रालयले यो सफलता हासिल गरेको हो।
लुम्बिनी प्रदेशको समग्र आर्थिक प्रगतिमा चालु वर्षमा ७२.४३ प्रतिशत बजेट खर्च कार्यान्वयन भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६.२९ प्रतिशतले वृद्धि हो।
मन्त्री थापाले मन्त्रालय सम्हालेको पहिलो दिनदेखि नै सुशासन, पारदर्शिता र जवाफदेहितामा विशेष जोड दिँदै योजना छनोटदेखि सम्पन्नतासम्म जनसहभागिता, प्राविधिक पारदर्शिता र इन्जिनियरिङ्ग दक्षता कायम राखेकाले मन्त्रालय उत्कृष्ट बनेको बताए।
उनले भने, “मैले पहिलो दिनदेखि नै योजनाहरूलाई दिगो, परिणाममुखी र प्रभावकारी बनाउने अठोट लिएको थिएँ। मन्त्रालयका कर्मचारीहरूको इमानदारी, योजनाको वैज्ञानिक व्यवस्थापन र सबै पक्षको सहकार्यकै कारण आज हामी यहाँसम्म आइपुगेका हौं।”
यस आर्थिक वर्षमा मन्त्रालय अन्तर्गत १०५ ठूला आयोजना सम्पन्न भएका छन् र खानेपानीको गुणस्तर सुधारमा विशेष प्राथमिकता दिइएको छ।
प्रदेश सरकारले २०८१/०८२ का लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा २८ अर्ब २२ करोड रुपैयाँ खर्च भएको छ।
पुँजीगततर्फ मात्र २४ अर्ब ५८ करोड रुपैयाँमध्ये १७ अर्ब ९१ करोड, अर्थात् ७२.८७ प्रतिशत खर्च कार्यान्वयनमा गएको हो।
यद्यपि खर्चको प्रतिशतका आधारमा स्वास्थ्य मन्त्रालय सबैभन्दा अगाडि (८६.०४%) देखिएको भए पनि विकास मन्त्रालयहरू मध्ये शहरी विकास तथा खानेपानी मन्त्रालय सबैभन्दा उत्कृष्ट रहेको मन्त्रालयले स्पष्ट पारेको छ।

