प्युठान । नौबहिनी गाउँपालिका बहानेमा सञ्चालन भएको एक महिने सिलाई कटाई तालिमको आज समापन गरिएको छ।
घरेलु तथा साना उद्योग कार्यालय प्युठानको आर्थिक सहयोगमा सञ्चालन भएको एक महिने तालिम आज समापन गरिएको हो।
घरेलु तथा साना उद्योग कार्यालय खलङ्गा प्युठानका निमित्त कार्यालय प्रमुख मनि बहादुर गुरुङको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि नौबहिनी गाउँपालिकाका उपाध्यक्ष विष्णा थापा रहनुभएको थियो। कार्यक्रममा थापाले आफूले सिकेको सीप व्यवहारमा उतार्नका लागि सहभागिलाई आग्रह गर्नुभएकाे छ । कार्यक्रममा नौबहिनी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मानबहादुर केसीले महिलाहरूले आफूले सिकेको सिपबाट स्वरोजगार बन्नका लागि शुभकामना दिएका छन्।
समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष श्रीराम भण्डारीले महिलाहरूको सशक्तिकरणको प्रमुख सूचक आयआर्जन रहेकाले सबै सहभागीहरूले आफूले सिकेको सीपलाई व्यवहारमा उतार्न सुझाव दिएका छन्।
कार्यक्रममा सहभागी विमति सुनारले आफूहरू गाउँमा बस्ने र यस्ता अवसरहरु कमै पाउने गरेको बताउँदै घरेलु तथा साना उद्योग कार्यालयले यस्तो प्रकारको तालिमले आफूहरुलाई हौसला प्रदान गरेको र आगामी दिनमा आयआर्जनको रुपमा सिलाई कटाई पेशा गर्ने बताएकी छिन्। तालिममा सहभागी बिना भण्डारीले आफूले यस पहिले पनि आधारभूत तहको तालिम लिएको र सिलाई कटाई पेशा गरिरहेको बताउँदै यस प्रकारको एडभान्स तालिमले थप सिलाई कटाई पेशामा आफूलाई प्रोत्साहित गरेको बताएकी छिन् ।
माघ २० गतेदेखि फागुन १९ गतेसम्म एक महिना सञ्चालन भएको तालिममा नौबहिनी गाउँपालिका वडा नम्बर १ र ८ का १५ जना सहभागी रहेका थिए।
कार्यक्रम समापन समारोहका अवसरमा कार्यालयका निमित्त प्रमुख मनि बहादुर गुरुङले महिलाहरूको क्षमता विकासका लागि कार्यालयले सहयोग गर्ने बताएका छन्।

