प्युठान । ऐरावतीमा स्थानीय न्यायिक समिति सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ऐरावती गाउँपालिकाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।
स्थानीय न्यायिक समितिका संयोजक एवं गाउँपालिकाका उपाध्यक्ष कृष्णप्रसाद श्रेष्ठको अध्यक्षता , ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बालगोपाल श्रेष्ठ, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, न्यायिक समिति सदस्य, वडा सचिव, मेलमिलापकर्ता लगाएतको उपस्थिती रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा न्यायिक समितिका सदस्य सचिव विनोद कुमार त्रिपाठीले मेलमिलाप कर्ताको काम,कर्तव्य र अधिकार, मेलमिलाप केन्द्रको संयोजकको काम कर्तव्य र अधिकार, निवेदन दर्ता प्रकृया , स्थानीय सरकार संचालन ऐनको धारा ४७(१,२) मा भएको अधिकारको बारेमा जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष शाहले मेलमिलापकर्तालाई कामको सहजताको लागि विभिन्न प्रकारका तालिम तथा कार्यक्रमको व्यवस्था गर्दै आएको बताउनुभयो मेलमिलापकर्ताहरुलाई आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुको व्यवस्था गर्ने उहाँँले बताउनुभयो । समाजलाई शान्त र भाईचाराको सम्बन्ध कायम राख्नको लागि मेलमिलापकर्ताको महत्वपूर्ण भूमिका हुने समेत शाहले बताउनुभयो ।
वडा स्तरीय मेलमिलाप केन्द्र गठन
अभिमुखीकरण कार्यक्रममा वडा स्तरीय मेलमिलाप केन्द्र गठन समेत गरिएको छ । वडा सचिवको संयोजकत्वमा वडाका मेलमिलापकर्ताहरु सदस्य हुने गरी केन्द्रको गठन गरिएको ऐरावती गाउँपालिकाका न्यायिक समितिका सदस्य सचिव विनोद कुमार त्रिपाठीले बताउनुभयो । गठन पश्चात मेलमिलाप केन्द्रहरु संचालन गर्ने, मुद्धा दर्ता गर्ने, छलफल गराउने, अभिलेख चुस्त दुस्त राख्ने र गाउँपालिकासंग समन्वय गर्ने काम हुने समेत उहाँले बताउनुभयो ।
साथै ऐरावती गाउँपालिका स्थानीय न्यायिक समितिबाट मेलमिलाप केन्द्रलाई आवश्यक पर्ने न्याय निरुपण सम्बन्धी मुलुकी अपराध संहिता २०७४, मुलुकी ऐन, नेपालको ऐन संग्रह खण्ड २०८१ तथा मुलुकी देवानी संहिता २०७४ पुस्तक पनि वितरण गरिएको थियो ।

