प्यूठान । बहुदल आएपछि बि.सं. २०४८ सालमा जनताद्वारा निर्माण गरिएको बाग्दुला मच्छी सडक लामो समयदेखि सरकारको उपेक्षामा परेको भन्दै लुम्बिनी प्रदेशका शहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापासहितको टोलीले पैदल यात्रा र सडक क्षेत्रका नागरिकसँग छलफल गरेका छन ।
पैदल यात्रामा प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्मा,झिमरुक गाउँपालिकाका उपाध्यक्ष प्रमोद पोख्रेलको नेतृत्वमा जनप्रतिनिधि, सडक पुर्बाधार र खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख लगायत करिब ५ दर्जन ब्यक्तिको सहभागिता रहेको छ । आइतबार बाग्दुलादेखी मच्छीसम्म करिब १२ किलोमिटर सडकमा पैदल यात्रा गरेका हुन ।
जिल्लाको पुरानो सडकमध्येको यो सडक एक हो । जसले प्यूठानका झिमरुक गाउँपालिका,गौमुखी गाउँपालिकाका साथै बागलुङ,अर्घाखाँची र गुल्मी जिल्लालाई जोडेको छ । लामो समयदेखी निर्माणको चर्चा चलेपनी काम भने हुन सकेको छैन । केन्द्र सरकारले यो सडक निर्माणमा बेवास्ता गरेको र सडक निर्माणका लागी पैदल यात्रा गरेको मन्त्री थापाले समाचार स्पेशलाइ बताए । ‘पहिलापनी यो सडक यस्तै थियो,अहिले पनि यस्तै छ । सडक निर्माणका लागि पैदल यात्रा गरेका हौँ’ उनले भने । यो सडक आफ्नो कार्यकाल बनाएरै छोडने उनको भनाइ छ ।
पैदल यात्रामा मतदातासगँ पनि सडक तथा खानेपानीको बिषयमा छलफल गर्नु भएको छ। पैदल यात्रामा मतदाताको पनि उत्साहजक सहभागिता रहेको छ । साथै आज नै झिमरुक गाउँपालिकाको बिकास निर्माणका बिषयमा सबै दलका नेता, जनप्रतिनिधिसगँ अन्तरक्रिया गर्ने तालिका रहेको मन्त्रीको सचिवालयले जनाएको छ ।

