प्यूठान । नेपाल कम्युनिष्ट पार्टी (मसाल)ले संघीयता विरोधी आन्दोलनलाई राजधानी केन्द्रीत गर्ने भएको छ । आगामी चैत्र २४ गतेदेखि ३० गतेसम्म राजधानी काठमाण्डौंमा संघीयता विरोधी प्रदर्शन गर्ने पार्टीका महामन्त्री मोहन विक्रम सिंहले बताएका छन् ।
राष्ट्रिय जनमोर्चा मार्फत संघीयता खारेजीको माग गर्दै आन्दोलन राजधानी केन्द्रीत गर्ने उनको भनाई छ । धर्म निरपेक्षताको संरक्षण, प्रजातान्त्रिक विकेन्द्रीयता र स्थानीय स्वायत्तताको पक्षमा, राष्ट्रिय अखण्डताको रक्षाका निम्ति आन्दोलन राजधानी केन्द्रीत गर्न लागिएको उनले स्पष्ट पारे ।
बिहिवार पार्टी जिल्ला समितिले जुम्रिमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले देश टुक्राउने र जातिय तथा क्षेत्रीय विखण्डन ल्याउने संघीयता नेपालीको एजेन्डा नभएको दावी गरे । ‘संघीयता नेपाली जनताको मत होइन ।’ ,महामन्त्री सिंहले भने, ‘संघीयता विदेशीको दवावमा आएको हो । संघीयता देशको हितमा छैन ।’
सत्ताको वचाउका लागि साम्यवादको कुरा गरे पनि ठूला राजनीतिक शक्तिहरु राष्ट्रियताको रक्षाका लागि कुनै भुमिका नरहेको उनको आरोप थियो । चार वटा राँगा हुनुभन्दा एउटा राँगा हुनु ठिक छ भन्ने तर्क गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्ने संघीयताको विरोधसँग आफ्नो असहमति रहेको उनले उल्लेख गरे । ‘संघीयताको विरोध गरि पञ्चायति शैली फर्काउनेमा राप्रपा रहेको छ ।’ ,उनले भने ।
पार्टी जिल्ला प्रवक्ता राम पहाडीको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्री, जिल्ला अध्यक्ष ज्ञामुराम न्यौपाने लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

