प्यूठान । मच्छीमा जारी प्रथम झिमरुक कृषि,पर्यटन तथा औद्योगिक ब्यापार मेला २०८१ ले बिद्यालयको पठनपाठनमा असर पुगेको छ । मच्छी बजार नजिकै रहेको सरकारी र एक संस्थागत बिद्यालयको पठनपाठनमा असर पुगको बिद्यालयले गुनासो गरेका छन् ।
मेलामा चर्काे स्वरमा स्पीकर बजाउँदा बिद्यार्थीको ध्यान कक्षा कोठाभन्दा बाहिर मोडिने गरेको गौमुखी सेकेण्डरी बोडिङ स्कुलका प्रिन्सिपल पदम केसीले समाचार स्पेशलाई बताए । बिद्यालयजस्तो पबित्र स्थल नजिकै यस्तो क्रियाकलाप हुदाँ समेत स्थानीय सरकार तथा सरोकारवाला निकायले चासो नदेखिएको उनको गुनासो छ । ‘मेलाले पठनपाठनमा समस्या भएको छ’ उनले भने,‘बिद्यार्थीले ध्यान सबै उतै दिने गरेका छन् ।’
अर्धबार्षिक परिक्षा नजिक आएको बेला मेला पठनपाठनमा असर परेको एक बिद्यार्थीले बताए ।
पठपाठनमा समस्या आएको बिद्यार्थीको गुनासो आएपछि अनेरास्वबियूले बालशिक्षा मा.बि.प्रशासनको ध्यानाकर्षण गराएको छ । मेला लामो समयसम्म चल्ने भएपछि पठनपाठनको बिकल्प खोज्न आग्रह गरेको अनेरास्वबियू प्यूठानका अध्यक्ष टेकराज केसीले बताए ।
यो बिषयमा गाउँपालिकाको शिक्षा शाखामा पनि गुनासो गएको शिक्षा शाखा प्रमुख मोहन बि.सीले बताए । यो समस्या हल गर्न आज नै छलफल गरेर निचोडमा पुग्ने उनको भनाई छ ।

