प्यूठान । जिल्ला प्रशासन कार्यालय प्यूठानको आयोजनामा महिला हिंसा,बालविवाह न्यूनिकरण तथा लागु औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सोमबार गौमुखी गाउँपालिका वडा नं. ३ रजवारामा सम्पन्न भएको छ ।
गौमुखी गाउँपालिकाको समन्वयमा भएको कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले अझैपनि समाजमा अन्धबिस्वास तथा बिभिन्न किसिमका हिंसाहरु हुने गरेको भन्दै यसलाई निमुल तथा न्यूनीकरणका लागी सबै पक्षको साथ र सहयोग आबश्यकता रहेको बताइन् । उनले गाउँ बस्ती, दुर÷दराजमा मदिरा सेवन, अशिक्षा र गरीबिका कारण बिभिन्न किसिमका हिंसाका घटनाहरु हुने गरेको समेत बताईन् ।
गौमुखी गाउँपालिका उपाध्यक्ष महाबिर रानाले गाउँपालिकामार्फत पनि यस्ताखालका सचेतनामुलक कार्यक्रम गर्दै आएको भएपनि यस्ता घटनालाई रोक्न नसकिएको बताए । उनले समाजका सबै जनता सचेत हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरिक्षक दिपेश बस्याल, अनुसन्धान अधिकृत सन्जित कुमार चौधरी, गौमुखी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सिराम पौडेल लगायतको सहभागिता रहेको थियो ।
गौमुखी गाउँपालिका वडा नं. ३ का अध्यक्ष जंग बहादुर पूनको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनीधी,शिक्षकक, बिद्यार्थी र स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।


