प्यूठान । प्यूठानको मल्लरानी गाउँपालिकाले हल गोरु पाल्ने तथा बाझोँ जमिनमा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ । कृषि काम गर्न प्रयोग हुने गोरु पछिल्लो समय हराउदै गएका छन् । खेतबारी जोत्न प्रयोग हुने गोरु अहिले आधुनिक यन्त्र भित्रिएसँगै हराउँदै गाएका छन् । पालिकाले गाई गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याएको हो ।
पालिकाले कार्यबिधी बनाएर चालु आ.ब. २०८१÷०८२ बाट गोरु पाल्ने किसानलाई प्रोत्साहनको कार्यक्रम ल्याएको हो । पालिकाले पहिलो पटक गोरुपाल्ने किसानलाई प्रोत्साहन गर्न लागेको हो । बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पाल्न प्रोत्साहन एवम् प्रवद्र्धनात्मक’ कार्यक्रमअन्तर्गत किसानलाई प्रोत्साहन गर्न लागेको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले बताए । ‘कृषि कर्ममा महत्वपूर्ण सहयोग गरेको गोरुलाई हामीले बिर्सदैँ गएका छौँ,अहिले गोरु पाल्न छोडिसक्यौँ’ उनले भने,‘गोरु पाल्न प्रोत्साहन गर्न यो कार्यक्रमले सहयोग हुनेछ ।’
गाउँपालिकाले पहिलो पटक हल गोरु पाल्ने तथा बाझोँ जमिनमा खेती गर्ने किसानलाई प्रोत्साहन गर्न लागेको र त्यसले गोरु संरक्षणमा सहयोग हुने मल्लरानी गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले बताए ।
‘एक हल गोरु पाल्ने किसानलाई पहिलोपटक पालिकाले प्रोत्साहन गर्न लागेको हो, हल गोरु लोप हुन थालेपछि पालिकाले संरक्षण गर्न अभियान चालेको हो’ उपाध्यक्ष श्रेष्ठले भने ‘यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने पालिकाको योजना छ ।’
त्यस्तै बसाईसराइ तथा युवाहरु बिदेशिने क्रम बढेपछि बाझो भएको जमिनमा पून खेती गर्ने किसानलाई पनि अनुदान दिने पालिकाको तयारी छ । बढ्दो बेरोजगारीको समस्यालाई कम गर्न यो कार्यक्रम फलदायी हुने पालिकाको अपेक्षा छ । जसका लागी गाउँपालिकाले चालु आर्थिक बर्षका लागी १ लाख रुपैया बजेट विनियोजन गरेको छ ।
कार्यक्रम सञ्चालनका लागी कार्यबिधी तयार भएको र अब आवेदन खुलाउने तयारी गरेको उपाध्यक्ष श्रेष्ठले बताए ।

