प्यूठान । दम्तीमा निर्माण भएको बिद्युत सबस्टेशन तत्काल सञ्चालन हुने भएको छ । मंगलबार जिल्ला समन्वय समिति प्यूठानमा भएको सबपक्षीय बैठकबाट बिद्युत सबस्टेशन तिहार अगाडी सञ्चालन गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले जानकारी दिइन् ।
‘तत्काल सबस्टेशन सञ्चालन गर्ने सहमति भएको छ’ उनले भनिँन,‘प्राधिकरणले तिहार अगाडी नै सञ्चालन गर्ने बताएको छ ।’ प्यूठान नगरपालिका ८ दम्तिमा ७ बर्ष अगाडी निर्माण सुरु भएको शबस्टेशनको झण्डै ९० प्रतिशत काम सम्पन्न भएको छ । तर नेपाल बिद्युत प्राधिकरणको बेवास्ताका कारण सब स्टेशन सञ्चालन हुन सकेको छैन ।

सबस्टेशनको प्रशारण लाईन बिस्तारमा देखिएको समस्या समाधानका लागी सहयोग गर्ने प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले बताए । बेलुवादेखि दम्तीसम्मका केहि स्थानमा स्थानीयको अबरोधका कारण सबस्टेशन सञ्चालनमा कठिनाई भइरहेको नेपाल बिद्युत प्राधिकरणले जनाएको छ । प्यूठान नगरपालिकाले बिवाद समाधानका लागी सहयोग गर्ने भएसँगै तिहार अगाडी सबस्टेशन सञ्चालन गर्ने नेपाल बिद्युत प्राधिकरणले बताएको छ ।

प्यूठानका हाल ३३ केभिएको बिद्युत बितरण भइरहेको छ । सबस्टेशन निर्माण सम्पन्न भइ सञ्चालन भएपश्चात ११ केभिएको बिद्युत बितरण हुनेछ । सबस्टेशन सञ्चालन भएपश्चात बिद्युत अनियमितको समस्या समाधान हुनेछ । त्यस्तै मंगलबार नै प्रमुख जिल्ला अधिकारी सहितको टोलीले बेलुवादेखि दम्तीसम्मको बिद्युत प्रशारण लाइनको अनुगमन गरेको छ ।

