प्यूठान । प्यूठानका दुई स्थानीय तहले प्लाष्टिकका माला आयात तथा प्रयोगमा प्रतिबन्ध लगाएपछि प्यूठानका पुष्प ब्यावसायीहरु हार्षित भएका छन् । तिहारलाई लक्षित गरी फुल खेती गरेका उनीहरु स्थानीय तहको यो कदमबाट हार्षित भएका हुन् । प्लाष्टिक मालाको प्रयोग बढ्दा फुलहरु बिक्रि नहुने अबस्था सिर्जना समेत भएको प्यूठानका पुष्प ब्याबसायीहरु बताउँछन् ।
तिहारलाई लक्षित गरी फुल उत्पादन गरेपनि अघिल्लो बर्ष फुल बिक्रि नहुँदा कुहाँएर फाल्नुपर्ने अबस्था समेत आएको प्यूठान नगरपालिका ३ मा पुष्प खेती गर्दै आएकी राधा अधिकारीले बताइन् । ‘पोहोर साल उत्पादन भएको फुल पनि बिक्रि भएन’ उनले भनिँन,‘फुल बोटमै सुक्यो जसका कारण हामी ठुलो नोक्सानी ब्यार्हाेनुपर्ने ।’
अहिले प्यूठान नगरपालिकाले कृत्रिम प्लाष्टिकका माला आयात तथा प्रयोगमा रोक लगाएका कारण फुल बिक्रिमा समस्या नहुने उनको बिश्वास छ । हेर्दा राम्रो देखिएपनि वातावरणलाई असर पर्ने यस्ता प्लाष्टिकका मालाको प्रयोगमा माण्डवी गाउँपालिकाले प्रतिबन्ध लगाएपछि आफु खुसी भएको माण्डवी गाउँपालिका ३ लामाचौरमा फुलखेती ब्याबसायी चेतकला के.सीले बताइन् । ‘पालिकाको यो निर्णय सकारात्मक छ जसले गर्दा म जस्ता पुष्प ब्याबसायीलाई राहत हुनेछ’ उनले भनिन् ।
वातारणमा प्रतिकुल असर देखापर्ने तथा स्थानीय पुष्प ब्याबसायीलाई प्रोत्साहन गर्न भन्दै आयात तथा प्रयोगमा प्रतिबन्ध लगाएको स्थाननीय तहको भनाई छ । स्थानीयस्तरमा पुष्प खेती गरेका ब्यावसायीलाई संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहको भएको माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले बताए । ‘वातावरण संरक्षणमा पनि सहयोग पुग्छ भने अर्काेतर्फ स्थानीय ब्यावसायीको संरक्षण पनि हुन्छ’ उनले भने,‘ त्यसका लागी हामीले प्लाष्टिकका मालामा प्रतिबन्ध लगाएका हौँ ।’

