प्यूठान । आफ्नै सुरमा बगेको भुसबाङ खोला एक दिन बितन्डा मच्चाउँछ भन्ने कल्पना बुढादेवीका आत्माराम सुनारले गरेका थिएनन् । प्यूठान नगरपालिका ९ बुढादेबीका उनी भुसबाङ खोलामा आएको बाढीले यहाँको बजारमा यसरी क्षति गर्दा मन अमिलो हुने गरेको छ । मिलेर बसेको बजारमा अहिले बाढी पसेर बगरमा परिणात भएको देख्दा उनी भावविह्रल छन् ।
प्यूठानको मल्लरानी चुँजा, अर्घाखाँची जोड्ने रणनीतिक सडकका कारण बस्ती उजाड भएको उनको भनाई छ । गत बर्षदेखि भुसबाङ खोलामा आएको बाढी सामान्य क्षति गरेको थियो तर गत साउनमा आएको बाढीले घर नै पुरिदिएपछि उनको बिचल्लीबाठ भएको छ । “यसरी बाढी आएर बगर हुन्छ भन्ने मैले कल्पनामा पनि सोचेको थिएन” उनले भने,“बाढीले घर नै पुरिदियो, घरबार बिहिन भएका छौँ ।” बाढीले प्यूठान नगरपालिका ९ को बुढादेवी बजार खण्डहर बनाएको छ ।
मल्लरानी चुँजा, अर्घाखाँची जोड्ने रणनीतिक सडक निर्माण गर्दा फालेको ढुङ्गा माटो भुसबाङ खोलामा बाढी आएको स्थानीय बताउँछन् । सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको लापरवाहीले गर्दा यो परिस्थिति आएको बुढादेबीको बोम बहादुर खत्रीले बताए । सडक तलको बस्तीको बारेमा ख्याल नराखी माटो फाल्दा नागरिकले दुःख भोग्नु परेको उनको भनाई छ ।
खोलाले लेदोसहित ठुला ठुला ढुङ्गा माटो थुप्रिएको छ । बुढादेबी बजारमा २० मिटर अग्लो माटो तथा ढुङ्गा पहाड बनेको छ जसले बुढादेवीको पुरानो स्वरुपमा फेरिएको छ । खोलामा आएको बाढीले एउटा नीजि स्कुल र ६ घर बिस्थापित भएका छन् भने करिब १२ घर परिवारको घरमा क्षति भएको छ । उनीहरुको घरमै होइन करिब १ बिगाह जग्गा समेत पुरिदिएको बाढी पिडित मान बहादुर सुनारले बताए । अहिले घरभन्दा खोला २० मिटर माथीबाट बग्ने गरेको छ ।
बुढादेबी बजार क्षेत्रमा आएको बाढी रोकथाम तथा नियन्त्रणका लागी गर्न सकिने प्रयासका बिषयमा गत असोज ९ गते सडक डिभिजन कार्यालय,प्यूठान र जिल्लाका सरोकारवाला निकायहरुबीच छलफल समेत भएको छ ।
डिभिजन सडक कार्यालयले प्युठान नगरपालिकासंग कुनै सल्लाह नै नगरि भुसबाङको सिरबाट रणनीतिक सडक निर्माण गरि ठूलो मात्रा माटो फालेपछि यो समस्या सुरु भएको प्युठान नगरपालिकाले जनाएको छ ।

