प्यूठान । राजश्व अनुसन्धान विभागले राजस्व चुहावटलाई नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्न थालेको छ । तर ब्यापारीले कम रकमको अनलाइन बिल बनाई कर छल्ने गरेको भेटिएको छ । लमहीबाट प्यूठान तथा रोल्पा जिल्लामा तरकारी तथा फलफुल बिक्री गर्न ल्याउने ब्यापारीले कर छल्ने गरेको तथ्य भेटिएको छ । मंगलबार प्यूठान नगरपालिकाले बाग्दुलामा गरेको बजार अनुगमनका क्रममा जिल्लामा तरकारी बिक्रि गर्न ल्याउने ब्यापारी कर छल्ने गरेको भेटिएको हो ।
ब्यापारीले आलु २८ रुपैया प्रतिकिलोको अनलाइन बिल बनाइ ५५ रुपैयामा बिक्रि गर्ने गरेका छन् । त्यसमाथी पनि ब्यापारीलाई बिल नै नदिने गरेका पाइएको छ । आलुमात्र होइन तरकारी तथा फलफुलमा पनि त्यस्तै गर्ने गरेको भेटिएको प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बर्माले बताए । ‘रिटेलरले बास्तबिक मुल्यलाई कम मुल्यको मुल्याङ्कन गराउने रहेछन’ उनले भने,‘राज्यलाई तिर्न करमा कम मुल्यको अनलाइन बिल बनाउने र त्यसको २ देखि ३ गुणासम्म बढि मुल्यमा बिक्रि गर्ने भेटियो ।’
लमही,भालुबाङका तरकारी तथा फलफुल ब्यावसायीले कम मुल्यको बिल बनाउने र बढि मुल्यमा बिक्रि गर्दा राज्यलाई लाखौ रुपैयाको कर छली गर्ने गरेका छ । प्यूठान भित्रिदा ठाउँ ठाउँमा चेक हुने हुदाँ कम्पनीले कम मुल्यको बिल दिने गरेको एक रिटेलरले बताए । ‘ कम्पनीले नै कम मुल्यको बिल बनाइ दिन्छ,हामीले त्यहि बिल सरकारी निकायलाई देखाउछौँ’ ती रिटेलरले भने,‘तर त्यो अनलाइन बिलभन्दा २ गुणा महंगो हुन्छ ।’
व्यापारिक क्षेत्रमा हुने करछलीलाई सामान्य घटनाका रुपमा व्याख्या गर्न त सकिन्छ, तर यो घटनाले एउटा व्यापारीले राज्य संयन्त्रलाई धोका दिई कसरी करौडौं कर छल्छन् भन्ने देखाएको छ । राज्यका माथील्लो निकायबाट बिल लगायतको जाँच गर्ने अधिकार प्रहरीलाई नदिएकाले चेकजाच गर्न नसिकएको प्रहरीको भनाई छ । बस्तुको कम मुल्याङ्न गरी राज्यलाई कर छल्ने कार्य भएको भेटिएको र यसलाई रोक्न प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग छलफल गर्ने जिल्ला प्रशासन कार्यालय प्यूठानका प्रमुख प्रशासकीय अधिकृत जालन्धर भुषालले बताए । ‘सिडियो र डिएसपीसगँ कुरा राख्छु त्यसपछि एउटा निर्णय आउँला’ उनले भने ।

