प्युठान । प्युठानका कृषकहरु आधुनिक खेतीतर्फ आकर्षित भएका छन् । केहि समय पहिले परम्परागत रुपमा कृषि उत्पादन गदै आएका यहाँ किसान आजभोली आधुनिक प्रविधिको प्रयोग गरी ब्यवसायिक रुपमा तरकारी उत्पादन गर्न थालेका छन् । खुल्ला तथा कच्ची टनेल मार्फत कृषि उत्पादन गदै आएका जिल्लाका अधिकांश किसान पछिल्लो समय पक्की टनेलतर्फ आकर्षित भएका छन् । पक्की टनेलमा धेरै उत्पादन हुने भएपछि किसानहरूले तरकारी खेती गरी राम्रो आम्दानी गर्न थालेका छन् ।
प्युठान नगरपालिका– ८ तल्लो गेजवाङका सन्तोष जिसीले ब्यवसायीक रुपमा तरकारी खेती गर्न थालेको ६ बर्ष भयो । आठ रोपनी क्षेत्रफल जग्गामा मौसमी तथा बेमौसमी तरकारी खेती गदै आएका जिसीले करिब तीन रोपनी जग्गामा ३ वटा पक्की टनेल निर्माण गरेका छन् । बिगतका बर्षमा खुल्ला ठाउँमा टमाटर खेती गदै आएका उनी अहिले पक्की टनेलमा बेमौसमी टमाटर खेती गरेका छन् । पक्की टनेलमा गौरब ५५० प्रजातिको टमाटर लगाएर पहिलो सिजनमै २ लाख बढिको १८ क्वीन्टल टमाटर बिक्रि गरेका छन् । कच्ची टनेलमा भन्दा पक्की टनेल मार्फत खेती गर्दा उत्पादनमा वृद्धि हुनुका साथै आम्दानी पनि राम्रो भएको जिसी बताउँछन् । “ खुल्ला ठाउँमा खेती गर्दा रोग, किराको प्रकोपले सोचे जस्तो उत्पादन र आम्दानी भएन, त्यसैले उत्पादन बढाउन पक्की टनेलको प्रयोग गर्न थालेको हुँ,” उनले भने ।

जिसीले अहिले पक्की टनेलमा करेला, मुला, धनियाँ, सिम्ला खुर्सानी लगाएका छन् । ब्यवसायीक रुपमा तरकारी खेती गरेका उनले खर्च कटाएर वार्षिक ६ लाख रुपैंया सम्म आम्दानी गर्ने बताए । जिसीलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई प्यूठानले दुई वर्षदेखि सहयोग गर्दै आएको छ । टनेल निर्माणका लागि आर्थिक बर्ष २०८०÷८१ मा कार्यालयबाट रु दुई लाख ७० हजार अनुदान पाएको बताए । यस्तै २०७९/८० मा ट्रयाक्टर अनुदानमा पाएका थिए ।
यस्तै प्युठान नगरपालिका– ३ का सट कुमार न्यौपालेने ४ वटा पक्की टनेलमा बेमौसमी कांक्रा र टमाटर खेती गर्दै आएका छन् । २०७८ सालमा न्यौपाने कृषि र्फाम संञ्चालन गरी ब्यवसायिक रुपमा तरकारी खेती गदै आएका उनले ४ रोपनी जग्गामा टमाटर, सिमी, बोडी, आलु, साग, काउली, भ्यान्टा, लगायतका मौसमी तथा बेमौसमी तरकारीहरू उत्पादन गर्ने गरेका छन् ।
कच्ची टनेलमा मुस्किलले ५/ ६ क्वीन्टल टमाटर उत्पादन हुने गरेकोमा पक्की टनेल मार्फत एक सिजनामा १० देखि १२ क्वीन्टल सम्म टमाटर उत्पादन गरेको न्यौपानेले बताए । पक्की टनेलमा १५ देखि २० प्रतिशत सम्म उत्पादन वृद्धि भएको उनको अनुभव छ । एक सिजनमा कांक्रा र टमाटर गरेर ३ लाख बढीको उत्पादन बिक्रि गरेको बताए । सुरुमा बनाउन लगानी धेरै लागे पनि कच्ची टनेलको तुलनामा पक्की टनेल दीर्घकालीन हुने न्यौपानेको भनाइ छ । रोग, किराले कमै आक्रमण गर्ने, पशु चौपाया, असिना, झरी, हावाबाट पनि सुरक्षित हुने, विषादी पनि न्यून प्रयोग हुने र उत्पादन पनि राम्रो हुने भएकोले पक्की टनेलमा खेती गरिएको उनले बताए । अहिले प्राय जसो समस्याबाट छुटकारा पाइएको छ, अझै यसलाई थप विस्तार गर्ने योजना बनाएको छु ।‘ न्यौपानेले भने ।

जिल्लामा दुई आर्थिक बर्षमा ८२ वटा पक्की टनेल निर्माण गरिएको छ । २०७९/८० मा २५ लाख रुपैंया बजेटबाट ४० वटा र २०८०/८१ मा २३ लाख रुपैंयाबाट ३२ वटा पक्की टनेल निर्माण गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन इकाई प्यूठानका प्रमुख चुमान सिँह गरीले जानकारी दिए । कार्यालयको तर्फबाट ५० प्रतिशत र कृषकको ५० प्रतिशत लगानीमा ब्यवसायिक रुपमा कृषि उत्पादन गदै आएका मल्लरानी, झिमरुक गाउँपालिका, स्वर्गद्धारी र प्यूठान नगरपालिकामा टनेल निर्माण गरिएको उनले बताए । केहि कृषकहरुलाई मल, बिउँ, सिँचाई, तथा थोपा सिँचाईको ब्यवस्था सहित अन्य सामाग्री उपलब्ध गराएको बताए । गिरीका अनुसार जिल्लाका करिब ४० जना कृषकले पक्की टनेल मार्फत ब्यवसायीक रुपमा मौसमी तथा बेमौसमी तरकारी खेती गदै आएका छन ।
परम्परागत रुपमा गरिदै आएको निर्वाहमुखि उत्पादनलाई आधुनिकिकरण गदै कृषि उत्पादनलाई बढवा दिन उन्नप्रविधि संहित क्षेत्र विस्तार कार्यक्रम अन्तर्गत पक्की टनेल निर्माणलाई अगाडि बढाएको कार्यालय प्रमुख गिरीले बताए । चालु आर्थिक बर्षमा पनि नविन प्रविधि सहितको टनेल विस्तार गर्ने योजना रहेकाले जिल्लाका अन्य स्थानिय तहमा पनि टनेल निर्माण गर्ने गिरीको भनाइ छ ।


