प्यूठान । पाँच वर्षअघि विदेशबाट फर्केर कृषिमा लागेका प्युठान नगरपालिका–८ तल्लो गेजवाङका सन्तोष जिसीलाई आफ्नो गाउँ रमाइलो लाग्छ । उनले गाउँमा कृषिकर्म गरेर मनग्य आम्दानी समेत गरिरहेका छन ।
जिल्लामा कृषि कर्ममा टिकेको किसान पाइँदैन । केही त अनुदान लिएको अर्को वर्षदेखि नै फार्म बन्द गरेर विदेशिएका पनि छन् । तर जिसी भने प्रत्येक वर्ष नाफा वृद्धि गर्दै लैजाँदा खुसी छन् । ‘मासिक एक लाखभन्दा बढी तलब छाडेर स्वदेशमा कृषि पेशा अँगालेको हुँ’ उनले भने,‘यहीँ नै लगनशील भएर काम गरे प्रशस्त आम्दानी गर्न सकिन्छ ।’
विदेशमा जति कमाई भए पनि गाउँमै केही गरेर युवालाई उत्प्रेरणा दिन आफू विदेशबाट फर्केर कृषिमा लागेको जिसीले सुनाए । उनले संयुक्त अरब इमिरेट्सको दुबई अल्कुज कम्पनीमा पाँच वर्ष काम गरेर स्वदेश फर्किएका हुन् । हजुरबुबाले तल्लो गेजवाङ केही जग्गामा तरकारीखेती गरेर उब्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने लागेको र सोही प्रेरणाले विदेशबाट फर्केर तरकारीखेती गर्ने योजना बनाएको बताए ।
जिसीको आठ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारीखेती रहेको छ । यसमध्ये करिब तीन रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटरखेती गरेका छन् । उनले टमाटरबाट एक सिजनमा करिब रु तीन लाख बराबर बिक्री गरेका छन् । श्रीमती हिमा केसी जिसीले गाउँकै आधारभूत तहको शिक्षण गरी बिहान बेलुका सघाउँछिन छ भने स्थानीय चार महिलालाई रोजगारी प्रदान दिएका छन् ।
जिसी कृषि फार्मका रूपमा रु ५० हजारबाट बारीमा तरकारीखेती सुरु गरिएकामा बर्सेनि आम्दानी वृद्धि गर्दै हाल रु आठ लाखको लगानी रहेको छ । तरकारीबाट बर्सेनि उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको उनी बताउँछन् । जिसी दम्पतीसहित बुबा, आमा, तीन छोरी गरी सातजनाको परिवार छ । ‘गत वर्ष सबै खर्च कटाएर वार्षिक छ लाख नाफा भएको छ’, जिसीले भने, ‘काममा स्वतन्त्रतासँगै मनग्य आम्दानी हुँदा विदेशभन्दा गाउँमा कृषि गर्नु धेरै राम्रो हो भन्ने लाग्दछ ।’ विसं २०७९ मा साढे चार लाख जति नाफा भएकामा यस वर्ष उत्पादनसमेत वृद्धि र टनेलमार्फत खेती गर्दा उत्पादनमा वृद्धि भएको छ । जिसीले टमाटर, भिण्डी र बोडी लगाइएकामा अब खुसार्नी र भेडेखुसार्नी लगाउन ब्याड तयार गरेका छन । उनले वार्षिक आगामी वर्ष रु सात लाख बचत हुनेगरी उत्पादनमा लागेका छन् ।
जिसीलाई दुई वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले सहयोग गर्दै आएको छ । गत वर्ष हाते ट्रयाक्टर अनुदानमा पाएकामा यस वर्ष टनेलका लागि रु दुई लाख ७० हजार अनुदान पाएका थियो । जिल्लामा कृषि उत्पादनको बजारीकरणमा समस्या देखिए पनि जिसीले त्यो समस्या झेल्न परेको छैन् । उनले उत्पादन गरेको तरकारी प्युठानका बिजुवार, बाग्दुला, क्वाडी, खलङ्गाका पसलमा पुग्ने गरेको छ । तर हिउँदे सिजनमा तराईका तरकारीले बजार निर्धारण गर्ने हुँदा मूल्य नपाउने समस्या भने छ । स्थानीय सरकारले मूल्य निर्धारण गर्ने र बाह्य तरकारीलाई निरुत्साहित गरी स्थानीय उत्पादनलाई बजारीकरणमा सहयोग गरे किसानलाई मार नपर्ने उनको भनाइ छ ।

