प्यूठान । चाडपर्व नजिकीएसगैँ प्यूठानमा बजार अनुगमनलाई तिब्र पारिएको छ । दशैं तिहार जस्ता ठुला चाडपर्व आएसगैं प्रशासन कार्यालय, जिल्लाका स्थानीय तह,घरेलु तथा साना उद्योग कार्यालय जस्ता कार्यालयले बजार अनुगमनलाई तिब्र बनाइरहेका छन् ।
चाडपर्वमा खाद्य पदार्थमा कालोबजारी, अखाद्य बस्तु मिसावट तथा म्याद सकिएका बस्तु बिक्रि हुन सक्ने भन्दै सरोकारवाला निकायले बजार अनुगमनलाई तिब्र बनाएका छन् । एकतातिर शहरी क्षेत्रमा बजार अनुगमन हुदाँ ग्रामिण क्षेत्रमा भने अनुगमनको कुनै प्रभाब देखिदैन् ।
शहरी क्षेत्रमा म्याद सकिएका खाद्य बस्तु छ्याप्तछ्याप्ती भेटिरहेका छन् । तर ग्रामिण भेगका पसलहरुमा भने म्याद सकिएका बस्तु बिक्रि भइरहेका छन् । यस्ता पसलहरुमा बिशेषगरी पेय पदार्थ,चाउचाउ,बिस्कुट जस्ता सामाग्रीहरुको म्याद सकिएको बस्तु बिक्रि भइरहेको छ । ब्यापारीले ठुला सहरी क्षेत्रबाट म्याद सकिएका सामाग्री ग्रामिण भेगका पसलमा लगेर बेच्ने गरेको गौमुखी गाउँपालिका ४ का शोभाराम खत्रीले बताए ।
बजार अनुगमन गर्ने अधिकार स्थानीय तहलाई भएपनि पालिकाले नजिकैका बजारमा मात्र अनुगमन गर्ने गरेको उनको भनाई छ । “कर्मकाण्डी रुपमा बजार अनुगमन हुन्छ त्यसमाथि पनि पालिका नजिकैका बजारमा हुन्छन” उनले भने,“म्याद सकिएका बस्तु कसले रोक्ने ।” ग्रामिण क्षेत्रका जनतालाई यस बिषयमा थाहा नहुने गर्दा यस्ता क्षेत्रमा म्याद सकिएका बस्तु सहजै बिक्रि हुने गरेका छन् ।
प्यूठानका ग्रामिण क्षेत्रका नागरिकले बस्तुको उपभोग,उत्पादन मिति र मुल्य जस्ता कुरा हेर्न नसक्दा ठुला ब्यापारीले यस्ता क्षेत्रमा म्याद सकिएका सामाग्री पठाउदा प्रत्यक्ष रुपमा दुर्गमका नागरिकमा असर परेको गौमुखी गाउँपालिकाका उपाध्यक्ष महाबिर रानाले बताए । “उपभोक्ता हित संरक्षण समिति र पालिकाबाट नियमित अनुगमन गरेका छौँ” उनले भने,“चाडपर्वका बेला उपभोक्ता ठगिनबाट बचाउन सचेतसमेत गराउने गरेका छौँ ।” ग्रामिण क्षेत्रमा म्याद सकिएका बस्तुमात्र नभई नाप तौलका सामाग्री पनि कम तौलको हुने गरेको पाइएको छ ।

