प्यूठान । प्यूठान नगरपालिकाले गत असोज ६ गते नगर क्षेत्रका बिद्यालयका शिक्षकहरुलाई भारतको ‘ दार्जेलिङ’मा शैक्षिक भ्रमण गराएको छ भन्ने सुन्दा पत्यार नलाग्ला । हामीले पनि पत्याएका थिएनौं । तर भ्रमण टोलिका सदस्यहरुको फेसबुक पोष्ट, स्टाटस हेर्ने हो भने तपाँई हामीले नपत्याइ सुखै छ्रैन ।
नेपालमा शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको बिद्यालयसगँ अनुभव आदान प्रदान तथा अन्तरक्रिया गर्न नगरसभाबाट ६ लाख रकम बजेट विनियोजन गराएको नगरपालिकाको शिक्षा शाखाले भ्रमणको नाममा दार्जेलिङ घुमेको तस्बिर सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएपछि नगरबासीहरुको करको दुरुपयोग गरेको देखिएको छ ।
शिक्षा क्षेत्रमा सबैभन्दा वढि बजेट छुट्टाउने प्यूठान नगरपालिकाको शिक्षा शाखामा सबैभन्दा बढि राजनीति हुने गरेको यस अघि विपक्षहरुले आरोप लगाउदै आएकोमा अव नेपालको शिक्षा सुधार्न दार्जिलिङ्ग भ्रमण भन्ने अर्को नारा समेत थपिने देखिएको छ । यस अघि लामो समय तालाबन्दीको मार खेपेको शिक्षा शाखा अहिले विद्यालय अनुगमन भन्दा दार्जलिङ अनुगमन र घुमघाममा रमाएको चर्चा शिक्षा क्षेत्रका जानकारहरुले वताउन थालेका छन् ।
प्यूठान नगरपालिकाले देशभित्रका उत्कृष्ट विद्यालय पुगेर अध्ययन, व्यवस्थापनको अनुगमन गरि नगरपालिकाको आगामी कार्यदिशा तय गर्नका लागि बजेट विनियोजन गरेको हो । सोहि अनुसार अनुगमनको क्रियाकलाप अगाडि वढाउन निर्देशन समेत दिइएको वताउँदै अन्यत्र गएको हामीलाई थाहा छैन र त्यस्तो गर्न पाइदैन नगर प्रमुख विष्णु बहादुर योगीले वताए । यद्यपी नगरप्रमुख योगी वुटवलसम्म गएर फर्केको तथा उनी चढ्ने गाडि भ्रमण टिम संगै हिडेको फेसबुकका तस्विरहरुबाट पुष्टि हुन्छ ।
नगर उपप्रमुख देवेन्द्र वर्माले आफूलाई वजेट विनियोजन गरिएको सम्म थाहा भएको तर त्यसपछि भ्रमण सम्वन्धमा कुनै पूर्व जानकारी नभएको वताए । हामीलाई नगरपालिकाको शिक्षा सुधार्नु छ, त्यसका लागि उत्कृष्ट विद्यालयमा पुगेर बुझ्ने विषय थियो । “दार्जेलिङ घुम्ने त आफ्नो पैसाले होला, शिक्षा शाखाले नगरपालिकाको श्रोत दुरुपयोग गरेन होला”, उनले भने ।

यदि नगरबासीको करबाट दार्जेलिङ गएको नै हो भने त्योे दुरुपयोग भएको ठहर हुने वताउँदै तत्काल छानविनको वचन दिए ।
प्यूठान नगरपालिकाले नेपालभित्र मात्र शैक्षिक भ्रमणको तालिका रहेको बताएको छ । कर्मचारी र शिक्षक भारतको दार्जेलिङ आफ्नो ब्यक्तिगत खर्चमा गएको त्यहाको खर्च नगरपालिकाले नब्यहोरेको प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद भण्डारीले बताए । “दार्जेलिङ शैक्षिक भ्रमण होइन, उहाँहरु आफ्नो खर्चमा जानुभएको हो” उनले भने,“हामीले त्यहाँको खर्च ब्यर्होदैनौं ।”
नगरपालिकले भारतको दार्जिलिङ्ग भ्रमणको खर्च ब्यक्तिगत भनेपनि ब्यक्तिगत नभइ नगरपालिकाको खर्चमा त्यहाँसम्मको भ्रमण भएको भ्रमण दलका सदस्य समेत रहेका मुक्ति माध्यमिक विद्यालय रातामाटाका शिक्षक कृष्ण घिमिरेले बताएका छन् । “हामी दार्जेलिङ गएका हौं, हाम्रो रकम खर्च गरेका हैनौं, नगरपालिकाको रकम हो” उनले भने ।
नगरपालिकाको बजेटमा भारतको दार्जेलिङ पुग्नुलाई शैक्षिक भ्रमण नभई पर्यटन भ्रमण गरेको प्यूठान नगरपालिका ४ टारीका समाजिक अभियान्ता सुमन सुवेदीले बताए । “जनताले तिरेको करबाट दार्जिलिङ्ग जानु अस्वाभाविक छ” उनले भने,“भारतको र नेपालको शिक्षा नीति एउटै छैन त्यहाँ बिशुद्ध घुम्न गएका हुन् ।” जनताको रगत पसिना बगाएर तिरेको कर पालिकाका कर्मचारी तथा शिक्षकले रजाई गरेको सुवेदीको आरोप छ ।

यो बिषयमा बुझ्न हामीले बारम्बार टेलिफोन गरेपनि प्यूठान नगरपालिकाका शिक्षा शाखा प्रमुख बासुदेब पण्डितले बोल्न अस्विकार गरेका छन् । भ्रमण दलका सदस्य माधब पोख्रेलले दार्जेलिङ गएको र त्यहाँको बिद्यालय प्रशासनले आफुहरुको पत्रलाई मान्यता नदिएको फेसबुक मार्फत बताएका छन् ।

