प्यूठान । कृषिउपजको भण्डारका लागी स्थापना गरिएका शीत भण्डारण प्रयोग बिहिन बनेका छन् । किसानको कृषिउपजलाई संकलन गरी बेसिजन बिक्री गर्ने उद्देश्यले सञ्चालन गरिएका यी शीत भण्डारहरु प्रयोग बिहिन भएका हुन् । जसको एक उदाहरण हो प्यूठान नगरपालिकामा निर्माण गरेको शितभण्डार । जुन अहिले प्रयोगमा छैन् । प्यूठान नगरपालिका र प्रदेश सरकारको संयुक्त लगानीमा निर्माण गरिएको थियो । राज्यको लगानीबाट निर्माण गरिएको यो संरचनामा न जनताले कृषिउपज राख्न पाएका छन् न सञ्चालन गर्न दक्ष जनशक्ती छन् ।
हामी भन्दा अघि निर्वाचित जनप्रतिनिधि यस विषयमा चनाखो नबनेको प्युठान नगरप्रमुख विष्णु बहादुर याेगीकाे भनाइ छ । पुरानो प्रबिधीको शीतभण्डार निर्माण गर्दा यस्तो अबस्था आएको योगीले बताए । ‘अघिल्ला जनप्रतिनीधीले प्रबिधीको बिषयमा ख्याल नै नगरी स्थापना गर्दा यो बन्द भएको हो’ नगरप्रमुख याेगीले भने, ‘यो शितभण्डार सञ्चालन गर्न हामीसगँ दक्ष जनशक्ति छैन ।’
लुम्बिनी प्रदेश सरकारकाे सहयोगमा करिब १ करोड १५ लाखमा यो शितभण्डार निर्माण गरिएको हो । निर्माण भएको एक बर्ष सञ्चालन भएको थियो । तर सोही कृषिउपज कुहिने तथा उम्रिने समस्या भएपछि यो बन्द गरिएको हो । बन्द भएको लामो समय हुदाँ पनि शितभण्डार सञ्चालनमा आउन नसकेको हो । शितभण्डारमा जडान गरेको प्रबिधी अहिलेको समयसगँ नमिल्दा काम नगरेको मेयर योगीले बताए । मर्मतका लागी जनशक्ति खोजिरहेका छौँ तर कतै पाएका छैनौ नगरप्रमुख याेगीले भने, यो कहिले मर्मत हुन्छ र सञ्चालन हुन्छ हामी अहिले नै भन्न सक्दैनौ ।
हामीले शीतभण्डार मर्मत गरि सञ्चालन सहज बनाउन बजेट विनियोजन गरेको भएता पनि यस्काे मर्मत गर्ने जनशक्ति नै नभेटेपछि मर्मत हुन नसकेको प्युठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माले वताए । नगरपालिकाको कृषि शाखा लगातार देशभर मर्मत गर्ने विज्ञकाे खाेजीमा रहेको उनको भनाइ छ । पुरानो र फेजआउट हुँदै गरेको प्रविधि सहितको उपकरण यो शीतभण्डारमा रहेकाले मर्मतसम्भार र सञ्चालनमा समस्या रहेको नगर कृषि शाखाले आफुलाइ जानकारी गराएको समेत उनलेे स्पष्ट पारेका छन् ।
त्यस्तै माण्डवी गाउापालिकाले निर्माण गरेको शितभण्डारको अबस्था पनि योभन्दा कम छैन् । माडी क्षेत्रका किसानलाई लक्षित गरी शितभण्डार निर्माण गरिएको थियो । तर यहाँ पनि यहि समस्या हुदाँ १ बर्षदेखि बन्द अबस्थामा छ ।

