प्युठान ।
महामहानव तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (वीपी कोइराला) को १११ औं जन्मजयन्ती नेपाली कांग्रेस प्यूठानले अन्तरक्रिया कार्यक्रम शैक्षिक बहुउद्देश्यीय भवन पुण्यखोलामा सम्पन्न गरेको छ । नेपाली कांग्रेस प्यूठानका सभापति विष्णु कुमार गिरीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा स्वतन्त्रता सेनानी कमलप्रसाद पोख्रेलले वीपी कोइरालाका सन्दर्भमा कार्यपत्र प्रस्तुत गरेका थिए । पोख्रेलले वीपी कोइरालासंग ३ पटक भेट गरी भलाकुसारी तथा साक्षात्कार गर्ने अबसर पाएको बताए ।

वीपी कोइरालाको सामिप्यताका कारण आएको उत्साहित तत्कालीन प्युठानी कांग्रेसहरुलाई निरंकुश राजतन्त्रले साढे २ वर्ष जेल जीवन बिताउनु परेको थियो । देशमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । जहानीयाँ राणा शासनको विरोधमा वीपीका पिता कृष्णप्रसाद कोइरालाले गरिब किसानले लगाएको कपडा राणा प्रधानमन्त्री चन्द्रशम्शेरलाई पठाएपछि राणाको कोप भाजनमा परेर भारत निर्वासनमा जानुपरेको थियो । भारत निर्वासनकै क्रममा जहानीयाँ राणा शासनको अन्त गर्न विसं २००३ मा बिपीको नेतृत्वमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भयो । देशमा प्रजातन्त्र स्थापना मुख्य लक्ष्य लिएर सुवर्णशम्शेरको नेतृत्वमा विसं २००६ मा स्थापना भएको नेपाल प्रजातन्त्र कांग्रेसका बीच एकता भएपछि विसं २००७ को क्रान्ति सफल भएको थियो ।
जिल्ला उपसभापति देवेन्द्र वर्माको स्वागत मन्तब्य तथा र सचिव टोपाराम कालाथोकीको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुर्व सभापतिहरु सुवास केसी, अमर प्रसाद भण्डारी, प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठ, जिल्ला समन्वय प्रमुख धरम जि सी लगायतको उपस्थिति रहेको थियोे ।
कार्यक्रममा भर्खरै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयपछि प्राप्त परिपत्र, जिल्लाको सांगठनिक अबस्था र वीपी स्मृति प्रतिष्ठान स्थापना लगायतका विषयमा पाटी सभापति बिष्णु कुमार गिरीले जानकारी गराएका थिए ।

