रविन विश्वकर्मा,प्यूठान ।
नौबहिनी गाउँपालिका वडा नंम्बर ४ खवाङ्गमा हावाहुरीले मकैबाली नष्ट गरेको छ । भदौ १३ गते बेलुका पानीसंगै आएको हावाहुरीले वडाका विभिन्न ठाउँमा लगाइएको मकैबालीमा नष्ट गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । वडाको कुलेनी, धारापानी, झुदी, देउराली लगायतका ठाउँहरुमा मकैबाली पुरै नष्ट गरेको गाउँपालिकाका कृषि नायव प्राविधिक सहायक रजनिश शर्माले जानकारी दिनुभयो । करिब ९० जना कृषकको गरि १५० रोपनीमा लगाइएको मकैबाली कामै नलाग्ने गरी नष्ट गरेको उहाँले जानकारी दिनुभयो । सबै भन्दा बढी कुलेनी, झुदी, देउरालीमा क्षति गरेको बताउनुभयो ।
भर्खरै दानामा रस भरिदै गरेका मकैका बोटहरु बिच भागबाट बाचिएर भुँइमा ढलेको कृषि प्राविधिक शर्माले बताउनुभयो । पानीका कारण मकै कुहिनुका साथै टुसाहरु समेत पलाएको बताउनुभयो । नपाक्दै बोटहरु ढलेकाले अब ती मकैहरु केही काम नलाग्ने गरि नष्ट भएको उहाँले जानकारी दिनुभयो ।
नौबहिनी गाउँपालिका ४ खबाङ्ग देउरालीका अमित थापाले आफुले १८ रोपनीमा लगाएको मकै मध्ये १२ रोपनीमा लगाएको मकै हावाहुरीले सबै सखाप पारेको बताउनुभयो । जेठको पहिलो साता लगाएको मकै हावाहुरीले कुहिदा गाई भैसीलाई काटेर खुवाउन थालेको उहाँले सुनाउनुभयो । मनले नमानेर ढलेको भए पनि हुन्छ कि भनेर राखेको मकै बारीमा कुहिएर गनाउन थालेको बताउनुभयो । “गाई,भैंसी,बाख्रालाई समेत दिदा खाएका छैनन्”थापाले भन्नूभयो ।

यस्तै वडा सदस्य लाली गिरीले पनि ४ रोपनीमा लगाएको मकै हावाहुरीले नष्ट गरेको बताउनुभयो । माझ गाउँ ,ठुलासिम, खबाङ्ग लगायत पुरै गाउँभरी लगाएका मकैहरु कुनै पनि ठाउँ खाली नहुने गरी ढलेर कुहिन थालेको बताउनुभयो । मकै पाकेर स्याहार गर्ने आशमा बसेका अधिकांश किसानहरु हावाहुरीले मकै नष्ट पार्दा चिन्तित भएका छन् । किसाहरु हावाले ढालेको मकैका बोट हेर्दै अब परिवारमा भोकमरी छाउने भन्दै चिन्तामा परेका छन् । गाउँपालिकाले राहत उपलब्ध गराउनुपर्ने उनीहरुको भनाइ छ । गाउँपालिकाका कृषि प्राविधिक, वडा अध्यक्ष, सदस्यहरुले स्थलगत अनुगमन समेत गरेका छन् ।

हावाहुरीले क्षति गरेका ठाउँहरुको विवरण संकलन गरि राहतको लागि गाउँपालिकामा रिपोर्ट पेश गर्ने गाउँपालिकाका कृषि नायव प्रााविधिक सहायक सन्ताेष बिकले बताउनुभयो । गाउँकार्यपालिको बैठकले गरेको निर्णय अनुसार क्षतिको अवस्था हेरी कृषकलाई राहतको लागि काम अगाडि बढाउने उहाँको भनाइ छ ।

