रविन विश्वकर्मा,प्यूठान ।
सरुमारानी गाउँपालिका वडा नंम्बर ४ बडडाँडामा बजार अनुगमन गरिएको छ । सरुमारानी गाउँपालिको आयोजनामा जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय प्यूठान, जिल्ला प्रहरी कार्यालय,उद्योग बाणिज्य संघ, जिल्ला स्थित अन्य कार्यालयहरुको सोमबार समन्वयमा संयुक्त बजार अनुगमन गरिएको हो । अनुगमनबाट १ क्लिनिकलाई बन्द गराएको छ भने २८ हजार बढिको म्याद नाघेका अखाद्य बस्तु नष्ट गरिएको छ । अनुमगन टोलीले बडडाँडामा सञ्चालन गरिएको शोभा क्लिनिकलाई बन्द गराएको हो । अनुगमनका क्रममा औषधि व्यवसाय गर्न अनुमति लिएका ब्यक्तिले क्लिनिक नै सञ्चालन गरी ल्याब, एक्स–रे, तथा एमरजेन्सी सेवासहितको क्लिनिक सञ्चालन गरेको पाइएपछि बन्द गरिएको प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्माले जानकारी दिनुभयो । फार्मेसी सञ्चालन गर्ने अनुमति लिएर पोलिक्लिनिक नै सञ्चालन भएको पाइएपछि हाललाई फार्मेसी सञ्चालन गर्न मिल्ने गरी अन्य सेवा सहितको शोभा स्वास्थ्य क्लिनिक सिल गरिएको उहाँले बताउनुभयो । फार्मेसी सञ्चालन गर्न गाउँपालिकाबाटै अनुमति लिनुपर्ने र पोलिक्लिनिकका लागि प्रदेशमा दर्ता हुनुपर्ने भए पनि प्रकृया पुरा नगरेको पाइएको सहायक प्रजिअ शर्माले बताउनुभयो । हाललाई बहिरङ्ग सेवासहितका सबै सेवा सिल गरिएको छ । शोभा स्वास्थ्य क्लिनिक र शोभा फार्मेसीका नाममा सञ्चालन हुँदै आएको थियो ।
मुख्य ब्यापारिक केन्द्र बडडाँडामा रहेका खाद्यान्न,किराना,औधषी पसल,श्रृंगार पसल गरी करिब २० वटा पसहरुमा गरिएको अनुगमनबाट २८ हजार १ सय ८७ रुपैंया बराबरको बराबरको म्याद नाघेका सामान जफत गरि नष्ट गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबीराम पाठकले जानकारी दिनुभयो ।
अनुगमनमा खाने तेल, पेय पदार्थ, दालमोठ, चाउचाउ, बिस्कुट, कुरकुरे, भोला सुर्ती,मीठो सुपारि,मसला,चकलेट लगायका म्याद नाघेका सामान भेटिएको र सबै भन्दा बढि तेल, पेय पदार्थ नष्ट गरिएको उहाँले बताउनुभयो । अनुगमनको क्रममा केहि पसलमा साइन बोर्ड, मुल्य सुची नराखिएको, सामानको ब्याज लेबल नभएको, बिल जारी नभएको, सामाग्री गोदाम ब्यवस्था उपयुक्त नभएको,पसलमा सरसफाइ नभएको समेत पाइएकाले अनिवार्य रुपमा नेपाल सरकार तोकेको मापदण्ड अनुसार सबै प्रकृया पूरा गरेर मात्रै पसलहरु संञ्चाल गर्न ब्यवसायिहरुलाई निर्देशन दिएको अधिकृत पाठकले बताउनुभयो । ठुला ब्यापारीहरुबाट नै गाउँगाउँमा रहेका साना ब्यापारीहरुलाई म्याद नाघेका सामाग्रीहरु बिक्रि वितरण गर्ने गरेको पाइएकाले यस्तो नगर्न आग्रह गर्नुभयो ।

अहिलेको अनुगमनमा ब्यवसायीलाई सबै प्रकृया पूरा गर्न सल्लाह,सुझाब दिएको र अर्काे पटकको अनुगमनमा यदि प्रकृया पूरा नगरेको पाइएमा, अटेर गरि आम जनताको स्वास्थ्य माथि खेलवाड गदै म्याद नाघेका बस्तु बिक्रि वितरण गरे जरिवाना गरिने पाठकको भनाई छ । अनुगमनका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी शर्मा, सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत देबीराम, जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख तथा प्रहरी नायव उपरीक्षक ईश्वर थापा,नगर प्रहरी,स्वास्थ्यकर्मी,पालिकाका कर्मचारी लगातको उपस्थिति रहेको थियो ।

