रविन विश्वकर्मा
प्युठान । प्यूठानमा दुई जनामा हैजाको संक्रमण पुष्टि भएको छ । गौमुखी गाउँपालिका-५ का दुई जनामा हैजाको संक्रमण पुष्टि भएको प्युठान अस्पतालले जनाएको छ । केही दिन पहिले बिरामी भई उपचार गराइरहेका गौमुखी गाउँपालिका-५ खुङ्गका १२ वर्षीय बालक र ३५ वर्षीय पुरुषमा हैजाको सक्रमण पुष्टि भएको प्यूठान अस्पतालका प्रमुख डाक्टर राजेन्द्र पौडेलले जानकारी दिनुभयो । प्यूठान अस्पतालमा उपचार गराइरहेका ६ जनामध्ये २ जनाको रिपोर्ट पोजिटेभ आएको उहाँले बताउनुभयो । गत शुक्रबार हैजाका ३ जना शंकास्पद बिरामीकाे अारडिटी परीक्षण गर्दा पाेजेटिभ देखिएको थियाे । पाेजेटिभ देखिएपछि ३ जना बिरामीको दिशाको नमुना कल्चरको लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइएकोमा दुई जनामा काेलेरा भाइरस हैजाको रिपोर्ट पोजेटिभ आएको असपतालका प्रमुख डाक्टर पौडेलले बताउनुभयो । प्यूठान अस्पतालमा हाल गौमुखी गाउँपालिका वडा नं. ५ का ५ जना र स्वर्गद्धारी नगरपालिकाका १ जनाको उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको डा पौडेलले बताउनुभयाे । एक दुई दिनमै बिरामीहरु डिस्चार्ज हुने उहाँले बताउनुभयो । हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगबाट बच्न शौचालय गएपछि र खाना पकाउनु तथा खाना खानुअगाडि साबुनपानीले हात धुन, उमालेको पानी मात्रै पिउन, दाँत माझ्दा पनि खानेपानी प्रयोग गर्न, फलफूल र तरकारी राम्रोसँग पखालेर खान सरसफाइमा ध्यान दिन र पानी उमालेर मात्र पिउन डाक्टरहरुले सुझाव दिएका छन् ।

