सागर रिजाल,प्यूठान ।
प्युठानमा पनि जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस मनाइएकाे छ । १९ अाैं जातीय भेदभाव तथा उन्मुलन दिवसको अवसरमा बाग्दुलामा मानव अधिकार संरक्षण,छुवाछूत तथा जातीय भेदभाव विरुद्ध अन्तरक्रिया कार्यक्रम गरि दिवस मनाइएकाे हाे । सामाजिक विकास डिभिजन कार्यालय प्युठानकाे अायाेजना तथा राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्युठानकाे सह अायाेजनामा जनता मावि बाग्दुलामा अाज अन्तक्रिया कार्यक्रम गरिएकाे हाे ।
कार्यक्रममा बाेल्दै प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्युठानका प्रमुख धरम बहादुर जिसीले समाजमा हुने जातीय भेदभाव तथा छुवाछुत अत्यन्त गर्न सबैले साेचाई परिवर्तन गर्दै मनैदेखि लाग्नु पर्ने बताउनुभयो । पहिलेकाे तुलनामा जातीय भेदभाव कम हुदै गए पनि पुर्ण रुपमा भने विभेद अन्त्य हुन नसकेको बताउनुभयो ।
जिसीले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका विभेद तथा उत्पीडन अन्त्य हुँदै जाने आधार निर्माण गर्न सम्बन्धित निकाय सक्रिय हुन अावश्यक रहेकाे बताउनुभयो । साथै दलित र गैर दलित बिचमा रहेकाे छुवाछूतकाे खाडलसंगै दलित – दलित समुदायको बिचमा रहेको छुवाछूतलाई पनि अन्त्य गर्न जरुरी रहेको बताउनुभयो ।
यस्तै बिशेष अतिथि एवम् प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछूत लगायत अन्य विभेद सहेर बस्न नहुने बताउनुभयो । जातीय भेदभाव राज्यले नै अस्वीकार गरेकाले समाजमा हुने हरेक प्रकारका विभेद विरुद्ध अावाज उठाउनुपर्ने बताउनुभयो ।
प्रजिअ अर्यालले कुनैपनि ब्यक्ति तथा समुदायमाथि फरक ब्यवहार तथा दृष्टिकोणले हेर्न नहुने गरी नेपालकाे संविधान धारा २४ मा जातीय भेदभाव तथा छुवाछूत विरुद्धको हक,धारा १८ मा समाताकाे हक लगायत सामाजिक न्यायको हक जस्ता मौलिक हकको व्यवस्था गरेकाे समेत जानकारी गराउनुभएकाे थियाे ।
नेपाली समाजमा विद्यमान पुरातन सोच, परम्परा,रुढीवादी अशिक्षा,आर्थिक विषमता एवम् न्यून चेतनाका कारणले जातीय भेदभाव तथा छुवाछूत प्रथाको पूर्ण अन्त्य हुन नसकेको बताउनुभयाे । विभेद कम गर्न तीनै तहका सरकारले दलित समुदायकाे हक,अधिकार ,संरक्षण तथा सशक्तीकरणमा जाेड दिदै बस्ती तथा समुदाय स्तरमा सचेतना तथा जागरण अभियान सञ्चालन गर्न जाेड दिनुभयो । अर्यालले भेदभाव रहित समाज निर्माण गर्नु सबै नागरिकको दायित्व तथा कर्तव्य भएकाले कहिकतै कानुनले कसुर मानेका विभेद भए प्रहरी तथा प्रशासनमा जानकारी गराउन अाग्रह गर्नुभयो ।
कार्यक्रममा प्युठान क्याम्पसका क्याम्पस प्रमुख कल्पना खड्का,जनता मावि बाग्दुलाका प्रध्यानाध्यापक ईन्द्रमणि पाेख्रेल,गाैमुखि गाउँपालिकाका निवर्तमान उपाध्यक्ष तुल्सा सुनार,राष्ट्रिय दलित पत्रका संघ नेपाल जिल्ला शाखा प्युठानका सचिव रविन विश्वकर्मा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियाे । कार्यक्रममा बाेल्ने सबै बक्ताहरुले छुवाछूत तथा जातीय विभेदजन्य कार्य गम्भीर सामाजिक अपराधका रूपमा कानुन बमोजिम दण्डनीय हुने व्यवस्था भइसकेकाले राज्यका सबै जिम्मेवार तह र निकायले यसलाई प्रभावकारी कार्यान्वयन गर्न जाेड दिएका छन् । राज्यले छुवाछूत विरुद्ध बिभन्न ब्यवस्था गरेपनि कानुन कार्यान्वयनकाे पाटाे फितलाे हुदा दलित समुदाय विभेदकाे चपेटामा परेकाे बताएका थिए । छुवाछूतको समूल नष्ट गर्न राज्यका तीनै तहमा छुवाछूत निगरानी तथा अनुगमन संयन्त्र आवश्यक रहेको बताउदै सबैले साेचाईमा परिवर्तन गर्नुपर्ने बताएका हुन् ।
कार्यक्रमकाे समापन गर्दै सामाजिक विकास डिभिजन कार्यालय प्युठानका प्रमुख पुण्य प्रसाद न्याैपानेले दलित मानसिकता बाेकेका ब्यक्तिहरु नै बास्तवमा दलित भएकाे बताउनुभयो । जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न सबैले अात्मैदेखि दलित मानसिकता त्याग्नुपर्ने बताउनुभयो । जब सम्म ब्यक्तिमा विभेद तथा दलित मानसिकता जिवित रहन्छ तबसम्म छुवाछूत रहिरहने उहाँकाे भनाइ छ।
ब्यक्तिकाे एक्लाे प्रयासले मात्रै छुवाछूत अन्त्य संम्भव भएकाले विभेद मुक्त राष्ट्र निर्माण गर्न नागरिक समाज,राजनीतिक दल,जिम्मेवार तह र निकायकाे संयुक्त प्रयासबाट जनचेतनामूलक कार्यक्रम गर्दै अगाडि बढन सके मात्रै यस अभियानले सार्थकता पाउने बताउनुभयो ।
साथै कार्यलय प्रमुख न्याैपानेले दलित तथा सिमान्तकृत समुदायको सशक्तीकरणमा जाेड दिएकाे उल्लेख गर्दै समाजमा हुने हरेक प्रकारका विभेद विरुद्ध विभिन्न सचेतनामुलक कार्यक्रमहरु संञ्चालन गर्दै अाएकाे बताउनुभयो ।
२०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेपछि हरेक वर्ष जेठ २१ गतेलाई ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा मनाउने गरिन्छ।
सामाजिक विकास डिभिजन कार्यालय प्युठानका प्रमुख पुण्य प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संञ्चालन राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा प्युठानका संस्थापक अध्यक्ष तथा पत्रकार लाकेन्द्र सुनारले गर्नुभएकाे थियाे । कार्यक्रमा दलित अधिकारकर्मी,शिक्षक,बिद्यार्थी,मानव अधिकारकर्मी,समाजसेवी,बुद्धिजीवी,स्थानीय,पत्रकार लगायतकाे उपस्थिति रहेको थियाे ।

