नौबहिनी गाउँपालिकाले मेलमिलापकर्ताको लागि आवश्यक सामग्री वितरण गरेको छ । गाउँपालिकाले आईतबार एक कार्यक्रमको आयोजना गरि पालिकाका २६ जना मेलमिलापकर्तालाई सामग्री वितरण गरेको हो । न्यायनिरुपणको कामलाई थप प्रभावकारी गराउन सहयोगी पुस्तक, झोला, डायरी, पेन, ऐन, नियम संग्रह नोट, न्याय सम्बन्धि बनाईएका विभिन्न कार्यविधिको नोट, संविधानका किताब लगायतका आवश्यक सामाग्री वितरण गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले जानकारी दिनुभयो । सामाग्रीले विवाद मेलमिलापमा सहयोग पुग्ने बताउनुभयो ।
पालिकाले वडा तथा बस्ती स्तरमा हुने साना तिना विवादलाई वडा स्तरमै निरुपण गर्न केही समय अगाडि मेलमिलापकर्तालाई ४८ घण्टे तालिम समेत दिएको पौडेलले बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक बिस्ना थापाले पालिकाभित्र देखिने विवादलाई अब वडा स्तरबाट समाधान गर्ने बताउनुभयो । विवादहरुलाई मेलमिलापको माध्यमबाट निरुपण गर्न गाउँपालिकाका ८ वटै वडामा मेलमिलाप केन्द्रको स्थापना गरेको बताउनुभयो । यसअघि पालिकाको केन्द्रबाट विवादमाथि न्यायनिरुपण गर्दै आएको उल्लेख गर्दै अब सानातिना विवाद वडास्तरबाटै समाधान गर्न सकिने बताउनुभयो ।
न्यायिक समितिका संयोजक थापाले आफ्नो क्षेत्रअधिकार भित्ररहि निष्पक्ष रुपमा विवाद समाधान गर्न मेलमिलापकर्तालाई आग्रह गर्नुभयो । गाउँपालिकाका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक बिष्णा थापाको अध्यक्षतामा भएको वितरण कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत,वडा अध्यक्ष कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

