श्रीराम भण्डारी प्युठान । स्थानिय तह सस्थागत क्षमता स्वमुल्याङ्कन ( लिजा)मा नौबहिनी गाउपालि कार्यसम्पादनमा जिल्लामा उत्कृष्ट बनेको छ ।
जिल्लाका नौ वटा स्थानीय तहमध्ये नौबहिनीले स्थानीय तह संस्थागत क्षमता स्वयमुल्यांकन (लिजा) मा सवैभन्दा बढी अंक प्राप्त गरेको हो । गत आर्थिक वर्ष २०७९/ ०८० को लिजाको नजिजामा नौबहिनीले ९१ प्रतिशत अंक प्राप्त गरेको छ ।
स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि २०७७ बमोजिम माघको पहिलो सातासम्म नतिजा आफ्नो वेभसाईट र सूचना पाटीमा प्रकाशन गर्नुपर्ने व्यवस्था छ । उक्त व्यवस्था बमोजिम नतिजा प्रकाशन गर्न मन्त्रालयले पुस २७ गते परिपत्र गरेको थियो ।
स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउनका लागि विभिन्न सूचकहरुको आधारमा गरिने स्वमूल्यांकन हो । स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकनमा पालिकाहरुले विभिन्न १० सूचकहरुको स्वमुल्यांकन गर्ने गर्दछन् । ती सूचकहरुमा शासकीय प्रवन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तिय एवं आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पुर्वाधार, सामाजिक समावेशिकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन र सहकार्य र समन्वय रहेका छन् ।
त्यसतै सरुमारानी गाउँपालिकाले ७९, माण्डवी गाउँपालिकाले ७८.५, स्वर्गद्धारी नगरपालिकाले ७७.७५ अंक प्राप्त गरेका छन् । मल्लरानी गाउँपालिकाले ७५, प्यूठान नगरपालिकाले ७४.५, ऐरावती गाउँपालिकाले ६८.५ र गौमुखी गाउँपालिकाले ६८.२५ अंक प्राप्त गरेका छन् ।
नौबहिनी गाउपालिकामा प्रशासनिक , बार्षिक बजेट ब्यबस्थापन तथा कार्यान्वयन ,शुसासन तथा समाबेशितामा जाेड दिएकाे र नतिजामा पालिका आगामि बर्ष झन उत्कृष्ट बनाउदै लैजाने प्रमुख प्रशासकिय अधिकृत शिबराज पौडेलले बताएका छन ।
जिल्लाका ९ स्थानिय तह मध्ये झिमरुक गाउँपालिकाले अहिलेसम्म लिजाको नतिजा सार्वजनिक गरेको छैन । नतिजा सार्वजनिक गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई परिपत्र गरेपनि झिमरुकले अहिलेसम्म सार्वजनिक गरेको छैन ।

