प्यूठान । पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस प्युठानमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा जिल्लाका विभिन्न ठाउँमा कार्यक्रम सम्पन्न गरिएको छ । प्यूठानको सदरमुकाम खलंगामा रहको बर्द बहादुर गण ब्यारेकले अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न तथा कम्बल वितरण गरेर पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाएको छ । दिवसको अवसरमा गणले राष्ट्रिय अपांग सेवा संघ प्यूठान मार्फत सञ्चालीत अपांगता भएका विद्यार्थीहरुलाई खाद्यान्न तथा कम्बल वितरण गरेको हो । जाडोको समयमा विद्यार्थीहरुलाई सहजहोस भनेर ५० हजार रुपैयाँ बराबरको कपडा तथा खाद्यान्न प्रदान गरिएको बर्द बहादुर गण खलंगा व्यारेकका गणपति रमेश थापाले बताउनुभयो । जनहित कार्यक्रम अन्तर्गत कार्यक्रम गरिएको थापाले बताउनुभयो । साथै पृथ्वीनारायण शाहको शाहको तस्बिरमा माल्यार्पण एवं पुष्पगुच्छा अर्पण गरिएको छ ।
कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जीसी, मल्लरानी गाउँपालिकाका प्रमुख कृष्ण बहादुर खड्का, प्रमुख जिल्ला अधिकारी नारायण अर्याल लगायतले ३०२ औं पृथ्वी जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना मन्तव्य राख्नुभएको थियो ।
यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्यूठानले ¥यालीको आयोजना गरेर ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको छ । दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति प्यूठानले बिजुवारको मित्रमणी चोकदेखि जुम्री सम्म निकालेको ¥याली पुन बिजुवारमा पुगी कोण सभामा परिणत भएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पृथ्वीनारायण शाह साँस्कृत मञ्चका संयोेजक कृष्ण बहादुर खड्काले सबैले पृथ्वीनारायण शाहको सिद्धान्त अनुसरण गर्न आवश्यक रहेको बताउनुभयो । पृथ्वीनरायण शाहको सिद्धान्तलाई लिएर कयौं देशले गरेको प्रगतिको उदाहरण दिदै नेपालका सबै व्यक्तिले शाहको सिद्धान्त अनुसरण गर्न जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्यसमिति प्यूठानका अध्यक्ष चुमानसिंह बस्नेतले पृथ्वीनारायण शाहले बनाएको फूलजस्तो नेपाल अहिलेका घुसखोरीले सकाउन लागेको बताएका छन् । उनले राप्रपा पार्टी अरु भन्दा बेग्लै नीति लिएर आएको भन्दै देश तहसनहस बनाउन खोज्ने पाटीको विरोध गर्ने बताए । साथै राप्रपाले पुस र माघ महिनामा पार्टी संगठन तथा सुदृढीकरण अभियान सञ्चालन गर्ने र फागुनमा ७७ वटै जिल्लाका कार्यकर्ता काठ्माडौंमा भेला भएर शक्ति प्रदर्शन गर्ने समेत जानकारी गराए । पार्टी बलियो बनाउन पार्टी संगठन आवश्यक रहेको बताउँदै अध्यक्ष बस्नेतले पार्टी संगठनमा लाग्न कार्यकर्तालाई आग्रह पनि गरेका छन् ।

