काठमाडौँ । नेपाल टी–ट्वान्टी विश्वकप क्रिकेटको एसिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ । आज मलेसियालाई ६ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।
मलेसियाले दिएको १६६ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।नेपालको जितमा कुशल मल्लले ६५ रन बनाए । उनले ३४ बलमा सात छक्का र दुई चौका प्रहार गरे । यस्तै कुशल भुर्तेलले ४३ रन बनाए ।
कुशलले २५ बलमा चार छक्का र चार चौका प्रहार गरे । यस्तै आशिफ शेखले ३२ रन, सन्दिप जोराले १८ रन बनाए ।
कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ९ विकेट गुमाएर १६५ रन बनाएको हो । मलेसियाका साहेज अजिजले ६८ रन बनाउनुभयो । नेपालका अविनाश बोहोराले चार विकेट लिए। यस्तै सन्दीप लामिछाने, रोहितकुमार पौडेल र गुल्सन झाको नाममा एक एक विकेट रहयो ।

