(प्युठान) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार मिडियासंग सहकार्य र हातेमालो गरेर अघि बढ्न प्रतिबद्ध ओरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश भेलाको आज प्युठानको स्वर्गद्वारीमा उद्घाटन गर्दै मुख्यमन्त्री चौधरीले पत्रकारहरुको क्षमता विकास र मिडिया प्रबर्द्धनका लागि प्रदेश सरकारले पर्याप्त बजेट छुट्ट्याएको बताउनुभयो । सोसल मिडियाले मूलधारका मिडिया र पत्रकारलाई चुनौती थपिएको भन्दै उहाँले जिम्मेवार र मर्यादित पत्रकारितामा जोड दिनुभयो । मिडियाले स्थानीय उत्पादन प्रबर्द्धनमा भूमिका खेल्नुपर्ने बताउँदै मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले लोकल उत्पादनहरुको ब्राण्डिङ गरिरहेको उल्लेख गर्नुभयो ।

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले व्यवसायिक र मर्यादित पत्रकारिता गर्नुपर्नेमा जोड दिंदै प्रेस युनियनसम्बद्ध पत्रकारहरुलाई पेशागत मर्यादा कायम राख्न आग्रह गर्नुभयो । लम्सालले पत्रकारहरुको पेशागत दक्षता र व्यवसायिक सुरक्षाका लागि नेपाल प्रेस युनियन गम्भीर गम्भीर रहेको बताउनुभयो । भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सहमहामन्त्री निमा गिरीले विश्वसनीय पत्रकारिता कमजोर बन्दै गइरहेको भन्दै पत्रकारितामा स्वतन्त्रताका नाममा स्वच्छन्दता हाबी भएको बताउनुभयो ।

