प्यूठान । मल्लरानी गाउँपालिकाको खलंगामा एक महिनादेखि फोहोर उठ्न छाडेको छ । गाउँपालिकाले करिब एक महिनादेखि फोहोर उठाउन छोडेको हो । लामो समयसम्म पालिकाले फोहोर नउठाउँदा दुर्गन्ध तथा बर्षातको समयमा सरुवा रोगी फैलिने जोखिम बढेको छ । अघिल्लो आर्थिक बर्षमा पालिकाले टेन्डर खुलाएर पदमा कन्टक्सनलाई फोहोर उठाउने जिम्मा दिएको थियो । तर पदमा कन्टक्सनको सम्झौता असार मसान्तमा सकिएपछि फोहोर उठाउन नसकेको हो ।
फाहोर संकलन तथा ब्यबस्थापनका लागी पालिकालाई मासिक दुइ सय रुपैया तिरेपनि एक महिनासम्म फोहोर उठाउन पालिका नआउदाँ घरमै फोहोर जम्मा गरेर राख्नु परेको मल्लरानी गाउँपालिका ४ का शान्ता श्रेष्ठले बताईन । ‘पालिकाले केहि समय फोहोर उठायो तर अहिले फोहोर उठाउन आएको छैन’ उनले भनिन्,‘फोहोर नउठाउने भए हामीले आफै ब्यबस्थापन गर्दथ्यो,घरमै फोहोर थुप्रिएको छ ।’
उता मल्लरानी गाउँपालिकाले भने फोहोर उठाउनका आफ्नै साधन खरिद गर्न लागेको जनाएको छ । पालिकाले ट्रयाक्टर खरिद गर्नका लागी बोलपत्र आह्वान गर्ने तयारी गरेको मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले बताए । ट्रयाक्टर खरिद नहुन्जेल सम्मका लागी यो समस्या समाधानका लागी पदमा कन्टक्सनलाई फोहोर उठाउने आग्रह गरेको खड्काले बताए । तर बर्षातका कारण डम्पिङ साइडसम्म पुग्ने बाटो बिग्रिएकाले पदमा कन्टक्सनले फोहोर उठाउन नसकेको कम्पनीका प्रतिनीधीले बताए । अबको २÷४ दिनभित्रै खलंगा तथा आसपासको फोहोर उठाउने पालिकाले बताएको छ ।

