प्यूठान । प्यूठानको समग्र बिकासका सन्दर्भमा आइतबार जिल्लाका नेपाली कांग्रेसका ६४ वटै वडा र ९ वटै पालिका सभापतिसगँ अन्तरक्रिया तथा छलफल सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार अन्तर्गत सहरी बिकास तथा खानेपानी मन्त्री सरोज थापा (राेज राणा) ले अन्तक्रिया तथा छलफल गरेका हुन् ।
छलफलमा संघियतापछि प्युठान जिल्लाको बिकास भएपनि जनताले सोचे अनुसार हुन नसकेको सभापतिहरुको भनाई थियो । तर आगामी आर्थिक बर्षदेखि जिल्लाको समग्र विकास हुनेगरी काम गर्न मन्त्री थापालाई आग्रह गरेको छ । मन्त्री थापाले प्युठान जिलाकाे विकासका लागि कायापलट हुने गरि यसपालि बजेट विनियोजन गर्ने प्रतिवद्धता गरेका थिए ।
प्रदेश सरकार आगामी आर्थिक बर्षका लागी बजेटको तयारी गरिरहेकाले आफुले जिल्लाको समग्र बिकासमा बजेट छुट्याउने मन्त्री थापाले बताएका छन् । ‘अव बजेट ल्याउने तयारी छ, जिल्लाका लागी आबश्यक बजेट पार्छुँ’ उनले भने,‘प्युठानका जनताले विकासको अनुभूति हुनेगरी विकास सुरु हुन्छ’
छलफलमा आगामी आर्थिक बर्ष २०८२/०८३ मा बाग्दुला मच्छी सडक र दम्ती बहाने सडकको कालोपत्रेको काम थालनी गर्ने मन्त्री थापाले बताए । त्यसका लागी काम अगाडी बढि सकेको समेत बताए । ‘आगामी बर्षदेखि जिल्लाका दुई सडक कालोपत्रेको काम सुरु हुन्छ’ उनले भने । अघिल्लो सरकारका पालामा लुम्बिनी प्रदेश मन्त्री परिषद्काे बैंठकबाट संघिय समपुरकमा ४२ करोड बिनियोजन गरी अधेरीखोला स्याउलीबाङ्ग सडकको काम अगाडी बढाएकोमा त्यस क्षेत्रका नेताहरुले मन्त्री सराेज थापा (राेज राणा) लाइ धन्यबाद समेत दिएका छन् ।

