प्यूठान । प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना प्युठानले किसानलाई चैतेधान खेतीका लागि प्रोत्साहित गरेको छ ।
प्रविधिको प्रयोग गर्दै जिल्लामा आर्थिक वर्ष २०७७÷७८ देखि प्युठानको ऐरावती, मल्लरानी र स्वर्गद्वारीको ४ सय रोपनी क्षेत्रफलबाट चैते धान खेतीका लागि किसानलाई सहयोग गरेको छ । परियोजनाले किसानहरूका लागि उत्पादन गर्न लागि बिउदेखि प्राविधिक औजार सहयोग गर्दै आएको परियोजनाका प्रमुख चुमान गिरीले बताएका छन् । गिरीले जिल्लामा अहिले २ हजार ५९५ रोपनी क्षेत्रफलमा चैते धान खेती गरी ६८० मेट्रिक टन धान उत्पादन भएको बताएका छन् । उनले भने ‘हामी कृषकहरुलाई उत्पादनमा कम समय र स्रोतको लगानीबाट धेरै उत्पादनमा जोड दिएका छौं, किसानका लागि सिंचाईदेखि आधुनिक कृषि औजार,बिउ उपलब्ध गराउनुका साथै उत्पादनमा समेत जोड दिएका छौं’
प्रमुख गिरीले यो वर्ष मल्लरानी ५ सराङबेसीमा १ सय रोपनी जमिनमा सामूहिक रूपमा टमाटर तथा बेमौसमी प्याज खेती गरिएको,डाम्रीमा केराउको बिउ उत्पादन र आहालखोलामा सिमिको बिउ उत्पादन गरिएको बताएका छन् ।
यो आर्थिक वर्षमा ऐरावतीको डाब्रा र स्वर्गद्वारीको सारीमा २ सय रोपनी जमिनमा चक्लाबन्दी गरी चैतेधान उत्पादनमा सहयोग गरिने भएको छ ।
कार्यक्रमबाट यस वर्ष ६३ लाख लागतमा ४९ सिचाई योजनाहरू सञ्चालन हुँदैछन् । चैते धान उत्पादनका लागि सजिलो होस् भन्ने उद्देश्यले कार्यालयले सिँचाइ तथा विभिन्न प्रविधिहरू हस्तान्तरण गर्दै आएको छ ।
गत वर्ष प्युठानमा २ हजार ५९५ रोपनी जग्गामा चैते धान खेती विस्तार भई ६सय ८० मेट्रिकटन धान उत्पादन भएको थियो भने ३ हजार ८२ जना वयस्कलाई खान पुग्ने चामल उत्पादन भएको कार्यालय प्रमुख चुमान गिरीले बताएका छन् ।

