सागर रिजाल प्यूठान । ऐरावती गाउँपालिकाको आर्थिक बर्ष २०८१÷०८२ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । पालिकाले चालु आर्थिक बर्षको पहिलो चौमासिकमा भएका योजना तथा प्रगतिको प्रस्तुत गरिएको थियो । पालिकाका अध्यक्ष नबिल बिक्रम शाहको अध्यक्षतामा ऐरवाती गाउँपालिका वडा नं. ६ बिजुलीमा चालु आ.ब.को प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरिएको हो ।
ऐरावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिमलाल बिश्वकर्माले प्रस्तुत गरेको प्रतिबेदनमा प्रथम चौमासिकसम्म ४१ प्रतिशत भौतिक प्रगति भएको छ भने १७ दशमलब ९६ प्रतिशत बित्तिय प्रगति भएको छ । पालिकामा १५ शैयाको अस्पताल, बृहत बरौला खानेपानी तथा झिमरुक बिजुली लिफ्ट खानेपानी लगायतका ठुला योजनाहरु सञ्चालन भइरहेको प्रमुख प्रशासकीय अधिकृत हिमलाल बिश्वकर्माले बताए । जन अपेक्षा अनुसार काम गरिरहेको उनको भनाई छ ।

पालिकाले जनताको माग अनुसार बिकास निर्माणका काम गरेको ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहले बताए । ‘हामीले चुनावमा गरेको करिब ९५ प्रतिशत प्रतिबद्धता पुरा गरेका छौँ’ उनले भने । सार्वजनिक सुनुवाई कार्यक्रममा ऐरावती गाउँपालिकाका अध्यक्ष नबिल बिक्रम शाहको अध्यक्षता रहेको कार्यक्रममा उपाध्यक्ष, ऐरावती गाउँपालिकाका ६ वटै वडाका वडा अध्यक्ष, जनप्रतिनीधी, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारी र नागरिकको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पि.आर.बि. मिडिया सर्भिसले गरेको थियो ।

