शिव राज खनाल
दाङ ३ भाद्र
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघियता फेल भयो भने त्यसको कारण प्रदेश नभई संघकै कारणले भएको मानिने चेतावी दिएका छन् ।
दाङको लमहीमा भएको संघ, प्रदेश, स्थानीय तहको अधिकार सूचीका आधारमा कार्यविस्तृतीकरण परिमार्जन सम्वन्धी प्रारम्भिक सुझाव संकलन कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री चौधरीले संघले प्रदेशलाई समयमा अधिकार नदिए प्रदेशबाट विद्रोह हुन सक्ने चेतावनी दिए ।
संघियता फेल भयो भने त्यसको भारी संघिय सरकारले बोक्नुपर्ने तर्क मुख्यमन्त्री चौधरीको छ । संघियको बारेमा धेरै चर्चा हुने गरेको प्रति ईगिंत गर्दै मुख्यमन्त्रीले अव संघियता फेल भयो भने प्रदेश सरकारको कारण नभई संघको कारणले हुन सक्ने भन्दै सचेत हुन आग्रह गरे ।

कर्मचारीहरुले संघियताको बारेमा फरक बुझाई राख्न नहुने भनाई उनको छ ।‘कर्मचारीहरुले पनि एउटा हातमा एउटा कुरा, अर्काे हातमा फरक कुरा बोकेर हिड्ने होइन’उनले भने,‘यसले संघियतालाई बलियो बनाउदैन ।’ संघियताको विकल्प नरहेको भन्दै उनले अव गाउँको विकासको लागी काम गर्नैपर्ने बताए ।‘हिजो पाँच बर्ष कानुन बनायौं भनेर छुट पाएको जस्तो होइन, अव हामीले काम गरेर देखाउने बेला छ । गाउँमा विकास पु¥याउन छ । रोजगार संग जोड्नुछ’उनले भने,‘हामीलाई पनि पछाडी फर्कने छुट छैन् ।’ संघिय सरकारले प्रदेश तहमा निजामती कर्मचारी, प्रहरी भर्ना, स्थानीय प्रशासन सञ्चालन लगायतको अधिकार हस्तान्तरणको माग उठाइएको छ । प्रशासनिक र अधिकारको क्षेत्रमा प्रदेश अधिकार विहिन भएकाले जनताले संघियतको अनुभुती गर्न नसकेको भन्दै अधिकार प्रत्यायोजन गर्न माग राखिएको हो ।

