प्युठान । नेपाली कांग्रेसका तर्फबाट लुम्बिनी प्रदेशको सरकारमा नेतृत्व गर्दै शहरी विकास तथा खानेपानी मन्त्री सराेज थापा (राेज राणा) सहितको टिमले प्युठानकाे सबैभन्दा पुरानो भएर पनि स्तरोन्नती हुन नसकेको बाग्दुला मच्छि १३ किलोमिटर सडक पदयात्रा गर्दै यो सडक जसरी पनि कालाेपत्रे गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पदयात्रामा प्युठान नगरपालिका उपप्रमुख देवेन्द्र वर्मा, झिमरुक गाउँ पालिकाका उपाध्यक्ष प्रमाेद पाेख्रेल, दुवै पालिकाका जनप्रतिनिधिहरु, सडक पुर्वाधार, सहरी विकास तथा डिभिजन खानेपानी कार्यालयका प्रमुखहरु, विभित्र राजनीतिक पार्टीका प्रमुख तथा प्रतिनिधिहरुकाे सहभागीता थियोे । पदयात्रा पछि झिमरुक गाउँपालिकाकाे सभाहलमा सर्वदलीय/सर्वपक्षीय बैठक बसि विकास आवश्यकता, जनताको गुनासो, कार्यालय प्रमुखहरु र सहरी विकास मन्त्रीले जवाफ तथा प्रतिवद्धता व्यक्त गरेका थिए ।
झण्डै ५० वर्ष अगाडि ट्र्याक खाेलिएकाे र बर्सेनि लाखौं रुपैयाँ मर्मतसम्भारका लागि खर्च गरिएपनि अहिलेसम्म पक्की नाली सम्म बन्न नसकेको यो सडकको १३ किलोमिटर सडक निर्माण अभियान यसै वर्षबाट जसरी पनि सुरु गर्ने र आफ्नो यही कार्यकालमै सम्पन्न गर्ने उनले जानकारी गराए । ‘अहिलेसम्म कसैले गरेन भनेर अब पनि बन्दैन भन्ने नसाेच्नुहाेला, याे पाली- यसैपालि जसरी पनि यो १३ किलोमिटर सडक लुम्बिनी प्रदेश सरकारले गर्ने छ’- मन्त्री थापाले मञ्चबाट प्रतिवद्धता व्यक्त गरे ।

झिमरुक गाउँपालिका उपाध्यक्ष प्रमाेद पाेखरेलकाे अध्यक्षतामा मन्त्रीद्वारा जनगुनासाे सुन्ने कार्यक्रमको आयोजना गरिएको थियो । यसरी मन्त्री घरदैलोमा पुगेर गुनासो सुन्ने र आवश्यकता पहिचान गर्ने अभ्यास अत्यन्तै नयाँ र जनतालाई उत्साहित गर्ने खालको भएको नेपाली कांग्रेस प्युठानका पुर्व सभापति सुवास केसीले वताए ।

