तनहुँ
तनहुँमा धानबालीमा गबारो र पात बेरुवा किरा देखिएको छ । म्याग्दे गाउँपालिका–७ पयेरमा धानबाली अनुगमनका क्रममा गबारो र पात बेरुवा किरा देखिएको हो ।
गत वर्ष देखिएको समस्या यस वर्ष पनि देखिएको म्याग्दे गाउँपालिका कृषि शाखा प्रमुख रुक्मिता घिमिरेले जानकारी दिनुभयो । “किरा नास गर्न काम थालिसकेका छौँ”, उहाँले भन्नुभयो । उहाँका अनुसार यस क्षेत्रको करिब २० रोपनी क्षेत्रफलको धानबालीमा खाद्यतत्व कमी देखिएको छ ।
गत वर्ष उक्त क्षेत्रमा समस्या देखिएपछि माटोको परीक्षण गरी किसानलाई परामर्श दिइएको थियो । समस्या समाधानका लागि विभिन्न उपाय कृषकलाई सिफारिस उपयोग गर्न आग्रह गरिएको शाखा प्रमुख घिमिरेले बताउनुभयो । “गत वर्षको तुलनामा कम भएको छ, यस वर्ष पनि देखिएकाले समाधान समयमा गर्नेछौँ”, उहाँले भन्नुभयो ।
खेतबारीमा धेरै झार, घाँस रहन नदिई सरसफाइ गरेर किराबाट बचाउन सुझाव दिइएको गाउँपालिकाले जनाएको छ । खाद्यतत्व कमी भएका खेतबारीमा कृषि प्राविधिकले सिफारिस गरेका परिमाणमा रासायनिक मल प्रयोग गरेमा यस्ता समस्या छिट्टै समाधान हुने उहाँको भनाइ छ । विगतका समस्या यस वर्षमा नदोहोरियोस भनेर अनुगमन र समाधानका उपाय अपनाउन कृषकलाई सुझाव दिइएको शाखाले जनाएको छ ।

