प्यूठान । माण्डवी गाउँपालिका-२मर्कावाङ ( रातापानी) प्युठानमा ६० वर्षिय रामबहादुर परियार र उनकी श्रीमती ५६ बर्षिय हुकुमा परियार आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।
फागुन ९ गते राति खाना खाएर सुतेका परियार दम्पती बिहान अबेरसम्म नउठेपछि छिमेकीहरूले प्रहरी चौकी तिरामलाई खबर गरेका थिए। सूचना प्राप्त भएपछि प्रहरी चौकी तिरामबाट प्रहरी वरिष्ठ हवल्दार सरद बस्नेतको नेतृत्वमा दुई जनाको टोली घटनास्थल पुगेको थियो।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय प्युठानबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) दिपेश बस्याल नेतृत्वको टोली खटिएको छ
घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय प्युठानका प्रवक्ता प्रहरी निरीक्षक केशव केसीका अनुसार मृतक दम्पतीको शरीरमा चोट देखिएकाले घटना शंकास्पद मान्दै अनुसन्धान थालिएको छ। घटनाको थप अनुसन्धान गर्न भैरहवाबाट तालिमप्राप्त कुकुर मगाइएको प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए।

