प्यूठान, असार ५। प्यूठान नगरपालिकाका उपप्रमुख देवेन्द्र वर्माले वडा–वडामा पुगेर स्थानीय नागरिकका गुनासा, सुझाव तथा समस्याहरू प्रत्यक्ष रूपमा सुन्ने अभियानलाई तीव्रता दिएका छन्।
नगरपालिकाले सञ्चालन गरेको ‘उपप्रमुख नागरिक संवाद’ कार्यक्रमअन्तर्गत उपप्रमुख वर्मा विभिन्न वडामा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष छलफल गर्दै उनीहरूका समस्या र आवश्यकताबारे जानकारी लिएका हुन्।
संवाद कार्यक्रममा सहभागी नागरिकहरूले खानेपानी, सडक पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य सेवा, सामाजिक सुरक्षा तथा युवाहरूको रोजगारीका विषयमा आफ्ना गुनासा र सुझाव राखेका छन्। स्थानीयवासीले जनप्रतिनिधि स्वयं गाउँ–टोलमा पुगेर समस्या सुन्न थालेपछि स्थानीय सरकारप्रति विश्वास बढेको प्रतिक्रिया दिएका छन्।
उपप्रमुख वर्माले नागरिकका गुनासा र सुझावलाई नगरपालिकाको नीति, योजना तथा कार्यक्रम निर्माणमा समावेश गरिने बताए। उनले जनप्रतिनिधिहरू नागरिकप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै स्थानीय सरकारलाई जनमैत्री र प्रभावकारी बनाउन प्रत्यक्ष संवाद आवश्यक रहेको धारणा व्यक्त गरे।
“जनताको घरदैलोमै पुगेर समस्या सुन्ने र समाधानका लागि पहल गर्ने हाम्रो दायित्व हो,” उपप्रमुख वर्माले भने, “नागरिकका वास्तविक आवश्यकता र अपेक्षालाई सम्बोधन गर्दै विकासलाई थप परिणाममुखी बनाउने हाम्रो प्रयास रहनेछ।”
वर्माका अनुसार नागरिक संवाद कार्यक्रम आगामी दिनहरूमा पनि निरन्तर सञ्चालन गरिनेछ। स्थानीय तहको सेवा प्रवाहलाई प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

