प्यूठान । प्यूठानमा सिकार खेल्न गएका व्यक्तिले बदेल ठानेर गोली प्रहार गर्दा एक किशोरको मृत्यु भएको छ भने एक किशोरी घाइते भएकी छन् ।
गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा भएको घटनामा नौबहिनी गाउँपालिका–४ का १९ वर्षीय सुशील परियारको गोली लागेर मृत्यु भएको हो । उनीसँगै रहेकी गौमुखी गाउँपालिका–४ की १८ वर्षीया किशोरी घाइते भएकी छन् ।
गम्भीर घाइते भएका परियारको उपचारका क्रममा चैत ३० गते बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते किशोरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार खर्सुको रुखमुनी बसेका उनीहरूलाई जंगली जनावर (बदेल) ठानेर टाढाबाट गोली प्रहार गरिएको थियो । घाइते दुवैलाई उद्धार गरी जिल्ला अस्पताल प्यूठान पुर्याइएकोमा थप उपचारका लागि बुटवल रिफर गरिएको थियो ।
घटनामा संलग्न रहेको आरोपमा गौमुखी गाउँपालिका–४ का २७ वर्षीय वीरेन्द्र केसीसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षीय विश्वास केसी, १९ वर्षीय बबी केसी र एक १४ वर्षीय बालक रहेका छन् ।
प्रहरीले घटनामा प्रयोग गरिएका दुई थान भरुवा बन्दुक बरामद गरेको जनाएको छ । पक्राउ परेका चारै जनाविरुद्ध ज्यान सम्बन्धी कसुर तथा हातहतियार मुद्दामा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

