प्यूठान । प्यूठानको मल्लरानी गाउँपालिका–४ पाण्डेडाँडामा प्रथम पुरुष जुनियर भलिबल तथा खुल्ला नृत्य प्रतियोगिता सुरु भएको छ । सत्य बराह बाल क्लबको आयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।
स्थानीय युवाहरूको प्रतिभा प्रस्फुटन गर्ने तथा खेलकुद र सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्लबले जनाएको छ । प्रतियोगितामा विभिन्न टिमहरूको सहभागिता रहेको छ भने नृत्यतर्फ ६ टिम सहभागी भएका छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले यस्ता कार्यक्रमले बालबालिकालाई सकारात्मक दिशातर्फ उन्मुख गराउने तथा समाजमा एकता र सहकार्यको भावना विकास गर्ने बताए । उनले खेलकुद र सांस्कृतिक क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । साथै, हाल बालबालिकाहरू अतिरिक्त क्रियाकलापमा कम सहभागी हुँदा व्यक्तित्व विकासमा असर परेको उल्लेख गरे ।
त्यस्तै, गाउँपालिकाका उपाध्यक्ष रमेश कुमार श्रेष्ठले बालबालिका अध्ययनमा मात्र सीमित नभई खेलकुदमा पनि सक्रिय हुनुपर्ने बताए । त्यसका लागि पालिका आवश्यक सहयोग गर्न तयार रहेको उनले बताए ।
प्रतियोगिता भोलिसम्म सञ्चालन हुने र उत्कृष्ट प्रदर्शन गर्ने टिम तथा प्रतिभालाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

