विराटनगर । सरकारमा सहभागी हुने निर्णय गरेको डेढ महिनापछि नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी हुने भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ लिनेछन् । शपथ बिहान साढे ९ बजे राखिएको छ ।
कांग्रेसबाट कोशी सरकारको नेतृत्व प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा सदस्य भुपेन्द्र राईले गर्नेछन् । उनी भौतिक पूर्वधार मन्त्री बन्ने तय भएको छ । राई कृष्णप्रसाद सिटौला समूहका नेता हुन् ।
कृष्ण सिटौला पक्षका भूमि राजवंशी भौतिक पूर्वाधार राज्यमन्त्री बन्नेछन् ।
यसैगरी खगेनसिह हाङ्गाम उद्योग कृषि तथा सहकारी मन्त्री र सदानन्द मण्डल पर्यटन, वन, वातावरण मन्त्री बन्ने निश्चित भएको छ ।
हाङ्गाम सभापति शेरबहादुर देउवा समूहका हुन् । मण्डल भने संस्थापन भित्रकै ज्ञानेन्द्र कार्की निकट मानिन्छन् ।
थप एक मन्त्री र एक राज्यमन्त्री केही दिनपछि सरकारमा सहभागी हुने प्रदेश महामन्त्री समेत रहेका सांसद राईले बताए ।

