- रविन विश्वकर्मा,प्युठान ।
नौबहिनी गाउँपालिकामा स्वास्थ्य कार्यक्रमहरुको गाउँपालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । नौबहिनी गाउँपालिकाको अायाेजनामा गाउँपालिकाकाे आर्थिक वर्ष २०८०/०८१ मा सम्पन्न स्वास्थ्य कार्यक्रमहरुको २ दिने पालिका स्तरीय वार्षिक समिक्षा गोष्ठी बुधबार पालिकाको सभाहलमा सम्पन्न भएको हो । गोष्ठीमा नौबहिनी गाउँपालिका अन्तर्गतका सम्पुर्ण स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेकाे कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । कार्य सम्पादनमा भएका कमिकमजोरीहरुलाई सुधार गदै आगामी दिनमा स्वास्थ्य संस्थालाई राम्रो नतिजा दिने गरी अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाले स्वास्थ्य संस्थाहरुको वार्षिक कार्य प्रगति सुन्दा समग्रहमा सन्तोषजनक रहेको बताउनुभयो । थापाले स्थानिय स्तरमा रहेका स्वास्थ्य क्षेत्रका समस्या तथा चुनौतीहरुलाई पहिचान गदै अवसरको सदुपयोग गदै जनता सरल,सहज एवम् गुणस्तरीय सेवा प्रदान गर्न आग्रह गर्नुभयो ।
यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले स्वास्थ्य संस्थाहरुले गुणस्तरीय सेवा प्रवाहमा बिशेष ध्यानदिनुपर्ने बताउनुभयो । नागरिकहरुकाे अपेक्षा धेरै हुने भएकाले जनभावनालाई मध्येनजर गरै गुणस्तरीय सेवामा जाेडदिनुपर्ने बताउनुभयो । साथै कार्यक्रमले संस्था, स्वास्थ्यकर्मी र सेवाग्राही प्रतिको जिम्मेवारी र थप सेवा विस्तार गर्न सहयाेग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलको अध्यक्षतामा भएकाे कार्यक्रममा गाउँपालिका अध्यक्ष दिल बहादुर थापाको प्रमुख तथा उपाध्यक्ष विस्ना थापाको विशेष आतिथ्यता रहेको थियाे । यस्तै स्वास्थ्य तर्फ साझेदार संस्थाहरु स्वास्थ्य कार्यालय प्युठानका जनस्वास्थ्य निरीक्षक राजु कुमार खड्का, मल्लरानी ग्रामीण विकास सरोकार केन्द्रका (ARS GESI) अधिकृत राज कुमार राउत र किड्स ( KIDS) नेपालका प्रतिनिधि तथा नौबहिनी गाउँपालिका अन्तर्गतका सम्पुर्ण स्वास्थ्य संस्थाका प्रमुख एवं प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

