प्यूठान । ‘स्थानीय स्रोत र प्रबिधीको समेत प्रयोग गरौं,भुकम्प थोग्ने संरचना बनाऔं’ भन्ने नारा सहित २६ औं भुकम्प सुरक्षा दिवश प्यूठानमा पनि बिबिध कार्यक्रम गरी मनाइएको छ । मंगलबार खलंगामा प्रभातफेरी गरी २६ औं भुकम्प सुरक्षा दिवश मनाइएको छ । महेन्द्र मा.बिबाट सुरु भएको प्रभातफेरी जिल्ला प्रशासन कार्यालयमा पुगि औपचारिक कार्यक्रम परिणत भएको थियो ।
वि.सं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष माघ २ गतेका दिन भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । वि.सं १९९० सालको विनासकारी भूकम्पबाट पाठ सिकेर सुरक्षित आवास निर्माण र भूकम्पीय जोखिम न्यूनीकरण गर्न हरेक बर्ष यो दिवस मनाउने गरिन्छ । नेपाल भुकम्पको उच्च जोखिममा रहेकाले अब बन्ने भौतिक संरचना भुकम्प प्रतिरोधी बनाउनुपर्नेमा सहभागिले जोड दिएका छन् ।
नेपाल रेडक्रस सोसाईटी प्यूठान शाखाका मन्त्री दामोदर शर्माले नेपालमा बारम्बार गइरहने भुकम्पले ठुलो धनजनको क्षेती पु¥याएको हुदाँ भौतिक पूर्वाधार निर्माण गर्दा सचेत हुनुपर्ने र भुकम्प थोग्ने संरचना बनाउनुपर्ने बताए । त्यस्तै जिल्ला समन्वय समिति प्यूठानका प्रमुख धरम बहादुर जि.सी.ले भुकम्प जस्ता प्राकृतिक विपद सुचना बजाएर नआउने हुदाँ विपदको पूर्वतयारी र सुरक्षामा ध्यान दिनुपर्ने बताए । ‘नेपालमा अझैपनि भुकम्प प्रतिरोधी संरचना बन्न सकेको छैन, जसका कारण ठुलो क्षेती भएको छ’ जीसीले भने,‘अब निर्माण हुने संरचना प्राबिधीकको सल्लाह लिएर बनाउनुपर्छ ।’
राज्यले नीति, निर्देशिका बनाएर काम गरिरहेको प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले बताए ।
नेपालमा हालसम्म कति वटा भुकम्प गए ?
नेपालमा कहिले देखि भुकम्प गएको हो भन्ने आधिकारिक तथ्याङ्क नभेटिएपनि पहिलो पटक नेपालमा बि.स. १३१२ मा भुकम्प गएको पाईन्छ । त्यसयता १८ वटा ठुला भुकम्प गएका छन् ।
आठ सय वर्षयताका ठूला भूकम्पहरूको नालीबेली
१ विसं १३१२ को भूकम्प सन् १२५५
यसभन्दा अगाडिको भूकम्पको कुनै अभिलेख नभए पनि विसं १२१८ मा गएको भूकम्पलाई भने पहिलो अभिलेख रहेको भूकम्प मानिन्छ । काठमाण्डौ केन्द्रविन्दु रहेको ७ दशमलव ८ रेक्टरको यस भूकम्पमा परि त्यस बेलाका राजा अभय मल्लको निधन भएको थियो । भूकम्पमा परेर २२ सय जना मानिसले ज्यान गुमाएका थिए । काठमाण्डौको त्यस बेलाको एक तिहाइ जनसङ्ख्याले भूकम्पका कारण मृत्युवरण गर्नुपरेको थियो ।
२ विसं १३१७ को भूकम्प सन् १२६०
सगरमाथा अञ्चल केन्द्रविन्दु भएर गएको यस भूकम्प ७ दशमलव १ रेक्टर स्केलको थियो । भूकम्पमा परि एक सय जनाले ज्यान गुमाएका थिए । भूकम्पको केन्द्रविन्दु सगरमाथा अञ्चलको कुन ठाउँ हो भन्ने बारेमा भने जानकारी छैन ।
३ विसं १४०१ को भूकम्प सन् १३४४
७ दशमलव ९ रेक्टर स्केलको यस भूकम्पमा परि एक सय जनाले ज्यान गुमाएका थिए । भूकम्पको केन्द्रविन्दु पूर्वी नेपालको मेची अञ्चल रहेको थियो ।
४ विसं १४६५ को भूकम्प सन् १४०८
नेपाल–तिब्बतको सीमा केन्द्रविन्दु भएर गएको यस भूकम्प ८ दशमलव २ रेक्टर स्केल रहेको थियो । भूकम्पमा परेर त्यस बेला २५ सय जनाले ज्यान गुमाएका थिए ।
५ विसं १५६२ को भूकम्प सन् १५०५
मुस्ताङ केन्द्रविन्दु भएर गएको विसं १५६२ को भूकम्प ८ दशमलव ९ रेक्टरको थियो । यो नै नेपालको इतिहासमा सबैभन्दा ठूलो भूकम्प मानिन्छ । भूकम्पका कारण त्यस बेला ६ हजार जनाको ज्यान गएको थियो । त्यस बेलाको जनसङ्ख्याको झन्डै ३० प्रतिशत मानिसले यही भूकम्पका कारण ज्यान गुमाएका थिए । भूकम्पको प्रभाव दक्षिणी चीन तथा भारतको उत्तरी भागमा पनि परेको थियो ।
६ विसं १७३८ सन् १६८१
कोशी अञ्चल केन्द्रविन्दु भएर गएको ८ रेक्टरको यस भूकम्पले त्यस बेला ४५ सय मानिसको ज्यान गएको थियो । तथ्याङ्क नभएका कारण कोशी अञ्चलमा कहाँ भूकम्पको केन्द्रविन्दु थियो भन्ने यकिन गर्न सकिँदैन ।
७ विसं १८२४सन् १७६७
बाग्मती अञ्चलको उत्तरतर्फ केन्द्रविन्दु भएको यस भूकम्पले पनि ठूलो मानवीय क्षति पुर्याएको देखिन्छ । ७ दशमलव ९ रेक्टर स्केलको भूकम्पका कारण त्यस बेला ४ हजार मानिसको ज्यान गएको थियो ।
८ विसं १८९० सन् १८३३
ठूलो भूकम्प भन्ने बित्तिकै हामीकहाँ धेरैलै विस १९९० को भूकम्प सम्झने गर्छन् । तर त्यसको ठीक एक सय वर्ष अगाडि पनि त्यत्तिकै ठूलो ८ रेक्टर स्केलको भूकम्प आएको थियो । जसको केन्द्रविन्दु काठमाण्डौ उपत्यकाको वरपर रहेको थियो । भूकम्पले नेपालका गाउँ, शहरमा धेरै ठूलो क्षति भएको थियो । त्यस्तै उत्तरी भारत तथा तिब्बतमा पनि भूकम्पले धेरै क्षति गरेको थियो । बङ्गलादेशको चित्तगाउँमा पनि भूकम्पको धक्का महसुस भएको थियो । भूकम्पका कारण ६ हजार ५ सय जनाले ज्यान गुमाएका थिए । त्यस भूकम्पले भक्तपुर, साँखु र बनेपमा ठूलो क्षति भयो ।
९ विसं १९२६ सन् १८६९
काठमाण्डौ केन्द्रविन्दु रहेको यस भूकम्पका कारण ७ सय ५० जनाको ज्यान गएको थियो । भूकम्प ६ दशमलव ५ रेक्टर स्केलको मापन गरिएको थियो ।
१० विसं १९७३ सन् १९१६
विसं १९७३ मा गएको ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले त्यस बेला ३ हजार ५ सय जनाको ज्यान गएको थियो । भूकम्पको धक्का तिब्बतसम्म पनि महसुस गरिएको थियो ।
११ विसं १९९० सन् १९३४
नेपालको इतिहासमा विसं १९९० माघ २ गते गएको भूकम्पलाई सबैभन्दा विनाशकारी भूकम्पको रूपमा लिइन्छ । सङ्खुवासभाको चैनपुर केन्द्रविन्दु भएर गएको भूकम्पमा ८ हजार ५ सय ९१ जनाको ज्यान गएको थियो । घर, विद्यालय, मन्दिर, पाटीपौवा र सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार ४० वटा संरचना भत्किएको अभिलेख छ ।
भूकम्पको प्रभाव भारतको बिहार, कोलकाता, मुम्बई तथा तिब्बतमा पनि परेको थियो । कोलकातामा पनि धेरै घरहरू भत्किएका थिए । बिहारको सीतामढीका कुनै घर सद्दे थिएनन् । बिहारमा भूकम्पले ७ हजार २ सय ५३ जनाको ज्यान गएको अभिलेख छ ।
१२ विसं २०२३ सन् १९६६
सुदूरपश्चिममा गएको ६ दशमलव ३ रेक्टरको यस भूकम्पले ८० जनाको ज्यान गयो । त्यस क्षेत्रका थुप्रै घर भत्किए । पशुचौपायाहरूको पनि ज्यान गयो । भूकम्पको केन्द्रविन्दु बझाङ भएको मानिन्छ ।
१३ विसं २०३७ सन् १९८०
पश्चिम नेपालको बझाङमा आएको ६ दशमलव ५ रेक्टर स्केलको भूकम्पले २ सय जनाको ज्यान गएको थियो । ५ हजार ६ सय जना घाइते भएका थिए । भूकम्पले नेपाल–भारत सिमानामा धेरै क्षति भएको थियो ।
१४ विसं २०४५ सन् १९८८
पूर्वी नेपालको उदयपुर जिल्ला केन्द्रविन्दु भएर गएको ६ दशमलव ९ रेक्टर स्केलको भूकम्पका कारण पूर्वी नेपलमा ठूलो क्षति हुन पुग्यो । भूकम्पका कारण १ हजार ९१ जनाले ज्यान गुमाउन पुगे । ६ हजार ५ सयभन्दा बढी घर भत्किए । भारतको बिहारका ५० हजार घरमा पनि भूकम्पका कारण क्षति पुग्यो ।
१५ विसं २०६८ सन् २०११
पूर्वी नेपालको ताप्लेजुङ र भारतको सिक्किम सीमाक्षेत्र केन्द्रविन्दु भएर गएको भूकम्पका कारण १ सय ११ जनाले ज्यान गुमाउन पुगे । भूकम्पका कारण सिक्किमका धेरै घरहरूमा क्षति पुग्यो ।
१६ विसं २०७२ सन् २०१५
विसं २०७२ साल वैशाख १२ गते दिउँसो १२ बजे गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले काठमाण्डौ, गोरखा र सिन्धुपाल्चोकमा ठूलो क्षति पुर्यायो ।
भूकम्पका कारण ८ हजार ८ सय ५७ जनाले ज्यान गुमाए । भूकम्पले १० हजार ८ सय ३ वटा सरकारी भवन पूर्णरूपमा क्षतिग्रस्त भए । २ लाख ९७ हजार २ सय ६६ वटा घर पूर्ण क्षति भयो ।
भूकम्पमा परेर युनेस्कोको विश्व सम्पदा सूचीमा रहेका काठमाण्डौको वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाँगुनारायण मन्दिर, बौद्धनाथ स्तुपा, स्वयम्भूनाथ स्तुपामा क्षति पुगेको थियो । यसै भूकम्पमा परेर धरहरा पूर्णरूपमा क्षतिग्रस्त भयो ।
१७ विसं २०७२ सन् २०१५
विसं २०७२ साल वैशाख २९ गते दोलखा केन्द्रविन्दु भएर गएको गोरखा भूकम्पको परकम्पका कारण २ सय १३ जनाले ज्यान गुमाए ।
१७ विसं २०७९ सन् २०२२
पश्चिम नेपालको डोटी केन्द्रविन्दु भएर गएको ५ दशमलव ७ रेक्टर स्केलको भूकम्पका कारण ६ जनाको ज्यान गयो । भारतमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो ।
१८ विसं २०८० सन् २०२३
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर कात्तिक १७ गते गएको ६ दशमवल ४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोट तथा रुकुममा ठूलो जनधनको क्षति भयो । १ सय ५७ जनाभन्दा बढीले भूकम्पका कारण ज्यान गुमाए । त्यस्तै ९ सय ३७ घर पूर्ण क्षति तथा २ हजार ९ सय ५४ वटा घरमा आंशिक क्षति पुगेको छ ।

