प्यूठान । पर्यटकीय स्थल मल्लरानीमा सरसफाई गरिएको छ । खलंगा कृषि सहकारी संस्थाले तेस्रो बार्षिक साधारण सभाको अवसरमा शुक्रबार सरसफाई गरेको हो । मल्लरानी वरिपरी सहकारी संञ्चालक,ब्यवस्थापक,शेयर सदस्य स्थानीय तथा जनप्रतिनिधिको सक्रियतामा सरसफाई गरिएको हो । मल्लरानीमा पछिल्लो समय घुम्नआउने आन्तरिक पर्यटकको संख्या बढेसंगै जथाभावी फालिएको विभिन्न प्रकारका फोहोरमैलाले मल्लरानी कुरुप बन्दै गएकाले मल्लरानीको पर्यावरणलाई हराभरा,स्वच्छ तथा सुन्दर बनाउन सरसफाई गरिएको खलंगा कृषि सहकारी संस्थाका अध्यक्ष इमानसिंह भारतीले बताउनुभयो । मल्लरानीमा फोहोरमैला संकलनको लागि डस्विनहरु राखिए पनि घुम्न आउने पर्यटकले जथा भावी खुल्ला रुपमा फोहोर फाल्ने गरेको बताउनुभयो ।
प्लाष्टिक एवं फोहोरहरुलाई संकलन गरि व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । अब्यवस्थित रुपमा फालिएको फोहोरले मल्लरानीको प्रचार प्रसारमा समस्या आउने भएकाले जथाभावी रुपमा फोहोर नफाल्न अध्यक्ष भारतीले आग्रह गर्नुभयो ।
मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर खड्काले मल्लरानीको पर्यटन विकासको लागि गाउँपालिकाले डिपिआर तयार गरेर अगाडि बढेको बताउनुभयो । साथैे मल्लरानीको सौन्दर्यता तथा व्यवस्थापन गर्नका निम्ति स्थानीयसँग सधैं सहकार्य तथा समन्वय गर्दै गाउँपालिका अगाडि बढ्ने खड्काको भनाई छ ।

