प्यूठान । प्यूठान नगरपालिकाले बिपन्नको चुल्होमा स्थानीय सरकार कार्यक्रम सञ्चालन गर्ने भएको छ । नगरभित्रका बिपन्न परिवारका लागी यो कार्यक्रम ल्याएको हो । खाने अन्न नहुदाँ भोकभोकै बस्नुपर्ने परिवारको चुल्हो बाल्न यो कार्यक्रम ल्याएको प्यूठान नगरपालिकाले जनाएको छ । आ.ब. २०८१÷०८२ मा ३० लाख रुपैया बजेट बिनियोजन गरेको छ ।
डिजिटल प्रोफाईल निर्माण पश्चात अति बिपन्न परिवारको पहिचान गरेर खाद्यान्न लगायतको सहयोग गर्ने प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले समाचार स्पेशलाई बताए । अहिले कार्यबिधी नभइ सकेका र केहि दिनभित्र कार्यबिधी निर्माण गर्ने मेयर योगीले बताए । ‘डिजटल प्रोफाईल निर्माणको काम भइरहेको छ त्यसबाट बास्तबिक अति विपन्नको सुची आएपछि कार्यक्रम सुरु हुन्छ’ उनले भने ।
स्थानीय सरकारमा सबैको पहुँच हुनुपर्छ । नगरभित्र कोहि भोकै रहनु हुदैन त्यसैले अति बिपन्न नगरबासीको साथमा हामी छौं भन्ने अनुभुति दिन यो कार्यक्रम ल्याएको प्यूठान नगरपालिकाका उपप्रमुख देबेन्द्र बर्माले बताए । हुने खाने वर्गको त पहुँच नगरपालिकामा हुन्छ नै, उहाँहरू पटकपटक आएर कामहरू गर्नु÷गराउनु हुन्छ । ती नहने र पहुँच विहिन वर्गको लागि जनप्रतिनिधिको भूमिका निभाउनु सबैको दायित्व महसुस गर्दै कार्यक्रम तय गरिएको उनले वताए । अहिले नै यो कार्यक्रम बिपन्नको घरमा लैजादाँ बास्तबिक बिपन्नले नपाउँने हुनसक्ने भएकाले डिजिटल प्रोफाईल र कार्यविधि निर्माणपछि कार्यक्रम लागु गर्ने उनको भनाई छ । ‘अहिलेनै कार्यक्रम सुरु गर्दा हामीमाथी पनि आलोचना हुन सक्छ त्यसकारण डिजिटल प्रोफाईल र खास त्यो वर्गकोमा पु¥याउने विधि निर्माणपछि यो कार्यक्रम जनतामाझ लैजान्छौँ’ उनले भने ।
प्रोफाइल निर्माणपछि नगरभित्र कति अति बिपन्न परिवार छन भन्ने डेटा आउने र कार्यक्रम सञ्चालन गर्न सहज हुने पालिकाको बिश्वास छ ।

