सागर रिजाल
प्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२।०८३ को लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । गाउँपालिकाको १८ औं गाउँसभामा अध्यक्ष नविल विक्रम शाहले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
९१ बुँदे नीति तथा कार्यक्रममा केहि पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ । अध्यक्ष युवा कार्यक्रम, लिफ्ट खानेपानीको महशुलमा अनुदान, एमविविएस डाक्टर पढाउन छात्रवृत्ति, होम टु हस्पिटल, स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने लगायतका पुराना कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
त्यसैगरी पालिका स्तरमा गुणस्तरीय निर्माणको लागि ल्याव स्थापना, वालमैत्री, वातावरणमैत्री र पोषणमैत्री गाउँपालिका घोषणाका लागि कार्यक्रम गर्ने, जनतासँगको संवादलाई हेल्लो ऐरावती सरकार सञ्चालन गर्ने, १५ शैयाको अस्पताल सञ्चालन तथा व्यवस्थापन गर्ने, कोसेली घर सञ्चालन गर्ने, कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने लगायतका नीति तथा कार्यक्रममा उल्लेख छ ।
पालिकाले गन्धर्व र कुसुन्डा जातीको संरक्षण र आयआर्जन वृद्धि गनृ विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । पालिकाले अध्यक्ष वन संरक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । वालविवाह न्यूनिकरणका लागि सूचनादातालाई २५ हजार रुपियाँ दिने पुरानो नीति तथा कार्यक्रमलाई निरन्तरता दिएको छ ।
स्थानीय सञ्चार गृहहरुको विकास र प्रर्वद्धनका लागि समावेशी विज्ञापन प्रणाली लागु गर्ने नीति लिएको छ । पारदर्शिता र सुशासनका लागि गाउँपालिकासँग सम्वन्ध्ति सूचनाहरु विद्युतीय र सञ्चार माध्यमबाट सार्वजनिकरण गर्ने निति लिएको छ ।
पालिका भित्र बस्ने ३० वर्ष माथीका नागरिकहरुको नसर्ने रोगहरुको अनिवार्य स्कृनिङ तथा परिक्षण गर्ने निती लिएको छ । वृद्धलाई ओखती कार्यक्रमलाई व्यवस्थित रुपमा अघि बढाउने नीति गाउँपालिकाको छ ।
पालिकाले एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै स्वास्थ्यको लागि पानी ९नेवा० कार्यक्रम लागु गरिने उल्लेख छ । कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशिलता साझेदारी कार्यक्रमलाई निरन्तरता दिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसैगरी उत्पादनमा आधारित प्रोत्साहनलाई निरन्तरता दिने उल्लेख छ ।
उत्कृष्ट किसानदेखी कर्मचारी सम्मानित
गाउँसभामा पालिकाभित्र रहेका उत्कृष्ट किसानदेखी कर्मचारीसम्मलाई पुरस्कृत तथा सम्मान गरिएको छ । गाउँसभामा किसान, शाखाप्रमुख, वडा सचिव, स्वास्थ्यकर्मी, शिक्षक, विद्यार्थी, महिला स्वास्थ्य स्वयंसेविका, उपभोक्ता समिति, विद्यालयलाई पुरस्कृत तथा सम्मान गरिएको छ ।
गाउँपालिकामा उत्कृष्ट कर्मचारी सागर रिजाल, यम प्रसाद पाण्डे, वडा सचिव प्रकाश विक, कार्यालय सहयोगी कमल नेपालीलाई पुरस्कृत गरिएको छ । स्वास्थ्यतर्फ अहेव राजेश कुमार शर्मा, अनमी गिता थापा र महिला स्वास्थ्य स्वयंसेविका मिरा ज्ञवालीलाई पुरस्कृत गरिएको छ ।
उत्कृष्ट विद्यालय जनता मावि विजुली, शिसुकल्याण आधारभुत विद्यालय झिवाङ, माण्डवी प्राथमिक विद्यालय लामिदमार रहेका छन । उत्कृष्ट शिक्षक महेन्द्र मावि सरङवेशीका प्रधानाध्यापक कृष्ण विक्रम शाह, पदमोदय मावि धुवाङका कुल बहादुर रोका, धर्मोदय मावि जावुनेका भोज बहादुर राउत, बालकल्याण आवि वेलबोटका मेनका अधिकारी र जनता माविका लेखापाल माधव पोख्रेललाई पुरस्कृत गरिएको छ ।
उत्कृष्ट किसानमा जयगोपाल श्रेष्ठ र जेष्ठ किसान पूर्ण बहादुर जिसी रहनुभएको छ ।

