प्यूठान । प्यूठान नगरपालिकाले बेसार प्रशोधन गर्न थालेको छ । स्थानीय स्तरमा उत्पादन भएको हलेतोलाई प्रशोधन गरी बेसार उत्पादन गर्न थालिएको छ । जापान सरकारले केन्द्र निर्माण तथा कृषि उपकरण सहयोग गरेसँगै प्यूठान नगरपालिका वडा नं. ८ मा बेसार प्रशोधन केन्द्र स्थापना गरेर बेसार प्रशोधनको काम सुरु भएको हो ।
जापान सरकारको ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट अन्तर्गतको यो परियोजनामा १ करोड रुपैयाँ बराबरको वित्तीय अनुदानमा यो केन्द्र स्थापना गरिएको हो । यो परियोजनाले बेसारको उत्पादन, प्रशोधन र व्यावसायीकरणका लागि कृषि उपकरण तथा प्रशोधन केन्द्र स्थापनाको लागि सघाएको हो ।
स्थानीयस्तरमा आधुनिक बेसार प्रशोधन केन्द्र नहुदाँ घरेलु उपकरण प्रयोग गरी कम गुणस्तरको बेसार उत्पादन हुदै आएको थियो । तर केन्द्र सञ्चालन आएसगै गुणस्तरीय बेसार उत्पादन हुने प्यूठान नगरपालिकाको भनाई छ । नगरपालिकाले वडा नं. ८ लाई बेसार पकेट क्षेत्र घोषणा गरेको प्यूठान नगरपालिकाका मेयर बिष्णु बहादुर योगीले बताए । ‘यो परियोजनाले रोजगारी सिर्जना गर्न मद्धत गर्ने छ’ उनले भने ।
स्थानीय स्तरमै उच्च प्रबिधीको केन्द्र सञ्चालनमा आएपछि नगरपालिकाबासी बेसार खेतीतर्फ आकर्षण बढ्ने र स्थानीयको आयस्तरमा बृद्धि हुने अपेक्षा नगरपालिकाको छ । यो केन्द्रबाट प्यूठान नगरपालिकामात्र नभई जिल्लाका अन्य स्थानीय तहका नागरिकलाई बेसार खेती गर्न उत्प्रेरित गर्ने प्यूठान नगरपालिकाका उपमेयर देबेन्द्र बह्माको भनाई छ ।
‘बाँदर तथा बदेँलका कारण हाम्रा धेरै जग्गा बाझिँएका छन्’ उनले भने,‘ बेसार जंगली जनावरले क्षेत्री नगर्ने हुदाँ यो परियोजनाले प्यूठान नगरपालिकामात्र नभई समग्र जिल्लाका किसानलाई बेसार खेती गर्न उत्प्ररित गर्ने छ ।’
प्रशोधन केन्द्रमा अहिले १ जना कर्मचारी रहेका छन् । उनले किसानले ल्याएको कच्चा पदार्थलाई बिभिन्न चरणहरुमा बेसार प्रशोधन गरिरहेकी छिन् ।
प्रशोधन केन्द्रले हाल किसानको रैथाने उत्पादनलाई प्रशोधन, भण्डारण,प्याकेजिङ गरेर बजारसम्म गरेको छ । यसले नगरपालिकामात्र नभई समग्र जिल्लाका किसानलाई बेसार खेतीमा आकर्षण बढाउने छ भने जिल्लालाई पूर्ण रुपमा बेसारमा आत्मर्निभर बनाउन सहयोग गर्ने छ ।

