प्यूठान । दानवीय स्वभावका जाँट राजालाई मारेको सम्झनामा सराँय नाँच्ने परम्परा छ । ६०० बर्ष पहिला भित्रिकोट राज्यमा जाँट वंशीय राजाले शासन गरेको थिए । राक्षसी जाँट राजाले जनतालाई दुःख दिने गरेका कारण आक्रान्त बनेका स्थानीय भारदार र राजाको श्रीमती अर्थात् रानीको योजनामा राजालाई लखेटेर डल्लेमा मारेको खुसीयालीमा तिहारको अर्काे दिन डल्लेमा सराँय नाच नाच्ने प्रचलन छ ।
गोरखा राज्यमा भित्रिकोट राज्य गाभिनु भन्दा साढे ३ सय बर्ष पहिला जाँट वंशीय राजाले शासन गरेको किम्बदन्ती छ । जाँट वंशीय राजा राक्षसी स्वभावको भएको बुढापाका बताउँछन् । ती राजाले जनतालाई दुःख दिने र प्रत्येक बर्ष स्थानीयले बालबालिकालाई राजाकोमा चढाउनुपर्ने थियो ।
यी कारणले आक्रान्त बनेका स्थानीय भारदार र राजाको श्रीमती अर्थात् रानीको योजनामा राजालाई लखेटेर डल्लेमा मारेको किंवदन्ती छ । राक्षसी राजालाई मारेको सम्झनामा प्रत्येक बर्ष डल्लेमा सराँय मेला लाग्ने गरेको छ । प्यूठान नगरपालिका विभिन्न ठाउँहरुबाट आएको सराँयहरु डल्ले बगैंचामा भेला भई तरबार नचाउदै वा खै–वा खै, वा खै–वा खै‘ भन्दै दिनभर सरायँ खेल्ने गरिन्छ ।
जाँट राजालाई मारेको सम्झनामा यो नाँच निकाल्ने गरिएको स्थानीय शुसिल पोख्रेल बताउँछन् । ‘जाँट राजाले स्थानीयलाई निकै दुःख दिने गरेको र राजाबाट जनता आक्रान्त बनेपछि स्थानीयले राजालाई मारेको सम्झनामा यो नाँच निकाल्ने गरिन्छ’ उनले भने,‘राक्षसी राजाबाट मुक्त भएको खुसीयालीमा प्रत्येक बर्ष तिहारको भोलिपल्ट सराँय निकालिन्छ ।’
डल्ले मेलामा युवाहरु बाजाको तालमा सराँय नाचमा तरबार लिएर नाँच्ने गर्छन् । यो डल्ले सरायँ नाच हेर्नको लागि आजभोली प्यूठान जिल्ला मात्र नभएर अन्य जिल्लाबाट समेत सांस्कृतिक अध्ययन र सरायँ नाच अर्थात् मेलाको रमाइलो हेर्न मानिसहरु पुग्ने गर्दछन् । केही बर्ष यता आएर यो मेला सरायँ नाचको प्रर्दशन र संरक्षणको स्थल समेत हुने गरेको छ ।

