शिव राज खनाल
दाङ ५ भदौ
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गेम चेन्जर योजनाहरुलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न सरकारका मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन् ।
प्रदेश विकास समस्या समाधान समितीको वार्षिक प्रगती समिक्षा कार्यक्रममा मुख्यमन्त्री चौधरीले बहुवर्षियो योजना भन्दा नयाँ योजनाहरुलाई प्राथमिकता दिन आग्रह गरे ।
बहुवर्षिय योजनाहरुमा ठुलो रकम विनियोजन हुदाँ प्रदेश सरकारलाई आर्थिक भार थपिदै जाने र नयाँ काम नहुने समस्या आएको भन्दै मुख्यमन्त्री चौधरीले आम नागरिकको जिवनस्तरमा परिवर्तन देखिने योजनाहरु अगाडी बढाउन आग्रह गरे ।
मुख्यमन्त्री चौधरीले समिक्षा कार्यक्रममा राम्रा कुराहरु मात्रै भन्दा पनि बिगतमा भएगरेका कमी कमजोरीहरुको पनि समिक्षा हुनु पर्ने बताए । जनताको जिवन स्तर परिवर्तनका योजनाहरुका लागि काम गर्न बजेटको कुनै कमीहुन नदिने भन्दै मुख्यमन्त्री चौधरीले मन्त्रालयका काममा पनि आलटाल र ढिलासुस्ती स्वीकार्य नहुने बताए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका ९ मन्त्रालयहरुले गरेका कामको समिक्षा र भावि योजनाका बारेमा मन्त्रालयका सचिवहरुले प्रस्तुतीकरण गरेका थिए प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले समृद्ध लुम्बिनीका बारेमा योजना प्रस्तुत गरेका थिए ।

