रविन विश्वकर्मा,प्यूठान ।
प्यूठानमा कृष्ण जात्रा निकालिएको छ । श्रीकृष्ण जन्माष्टमीको अवसरमा भोलिपल्ट निकालिने कृष्ण जात्रा जिल्ला सदरमुकाम खलंगामा आज दिउँसो देखि निकालिएको छ । श्री राधा कृष्ण मन्दिर ब्यवस्थापन समिति खलंगा प्युठानको आयोजनामा श्रीकृष्ण रथयात्रा सहितको भव्य जात्रा निकालिएको छ । रथ यात्रा मल्लरानी गाउँपालिका ४ तिरतिरे धारा स्थित राधाकृष्ण मन्दिरबाट े प्रारम्भ भएको छ । राधाकृष्णको रथलाई स्थानिले पुजा गर्ने प्रचलन छ । जात्रामा राधा कृष्णको रुपमा स्थानीय कलाकारहरु सजिएका छन् । राधा कृष्णका विभिन्न चरित्र चित्रण गर्ने पहिरन सहित युवा, युवतीहरु बालबालिका जात्रामा सहभागी भएका छन् । राधाकृष्ण मन्दिर परिसरबाट निकालिएको रथयात्रा सदरमुकामको गैराटोल, गणेस्थान,मेहन्द्र मावि,बैंक रोड, तेस्रो गल्ली, पाटि चोक, टुडिखेल, ब्यारेक, खानेपानी,बसपार्क हुदै पुनः मन्दिर परिसरमा पुगेर समापन हुने छ ।
यति बेला कृष्ण भजन गाउँदै श्रद्धालुहरुले बजार परिक्रमा गरि रहेका छन् भने स्थानीय कलाकारहरुले विभिन्न बजार तथा चोकमा नृत्य प्रस्तुत गरेका छन् । गठेमंगल अर्थात् घण्टाकर्ण पर्वदेखि सुरु भएको विभिन्न जात्राहरु कृष्ण जन्माष्टमीको अवसरमा निकालिएको जात्रासँगै समापन हुने राधा कृष्ण मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बताउनुभयो । नेवार सुमदायले करिब एक महिनासम्म गाईजात्रा, रोपाईं जात्रा, कृष्ण जन्माष्टमी जात्रा लगायत विभिन्न जात्रा एवम् नाच देखाउने चलन रहेको उहाँको भनाइ छ ।
प्यूठानका नेवारी सामुदायका युवाहरु आफ्नो संस्कृति र परम्परा जोगाउन जुटेका छन् । सदरमुकाममा निकालिएको जात्रा हेर्न गाउँगाउँ बाट मानिसहरुको आएका छन् । बिजुवारमा भने सत्य साई केन्द्र प्युठानको आयोजनामा, श्रीकृष्ण जन्माष्टमीको दिन सोमबार प्युठान नगरपालिको जुम्री टारी लयगायतका स्थानमा बजार परिक्रमा गदै श्रीकृष्ण रथयात्रा निकालिएको थियो ।

