सागर रिजाल,प्युठान । ऐरावती गाउँपालिका वडा नं ३ जाबुनेमा साबुन व्यवसाय सम्बन्धी सीप विकास तालिम संचालन भएको छ । सीप सिकौ स्वरोजगार बनौ, समृद्ध नेपालको निर्माण गरौ भन्ने मुल नाराका साथ ऐरावती गाउँपालिका गरीवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत उक्त तालिम संचालन भएको हो ।
तालिम सोमबार एक कार्यक्रमका बीच ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले उद्घाटन गरेका हुन । तालिमको उद्घाटन गर्दै अध्यक्ष शाहले सरसफाईका लागि अति आवश्यक पर्ने साबुन भएकाले साबुन व्यवसाय सम्बन्धी तालिम संचालन गरेको बताए । यस क्षेत्रका नागरिकलाई पूर्ण आत्मनिर्भर बनाउने उदेश्यले तालिम संचालन गरेका हौ, अध्यक्ष शाहले भने, तालिम भरपूर्ण तरिकाले लिनुहोला । तालिम लिनु ठूलो कुरा नभई यसलाई उत्पादन र व्यवसायिकरण गर्नुपर्ने उनको भनाइ छ ।
पालिकाले यस पहिले पनि विभिन्न वडामा नागरिकलाई आत्मनिर्भर बनाउनका लागि यस प्रकारका विभिन्न तालिमहरु संचालन गरेको समेत उहाँले बताउनुभयो । आगामी दिनमा पनि यस प्रकारका तालिमहरु संचालन गर्ने योजना रहेको उनले बताए ।
तालिम उद्घाटन कार्यक्रममा वडा नं ३ का वडाअध्यक्ष पदम बहादुर जिसीले यो तालिमले यस क्षेत्रका नागरिकलाई स्वरोजगार बन्ने ठूलो अवसर मिलेको बताए । यस तालिममा समयको पूर्ण रुपमा सदुपयोग गरी ध्यान दिएर तालिम लिन समेत आग्रह गरे ।
कार्यक्रममा ऐरावती गाउँपालिका योजना शाखा प्रमुख विनोद कुमार त्रिपाठीले यस तालिम पश्चात स्थानीय श्रोतहरुको उपयोग गरी साबुनसंगै फिनाएल, हारपिक र सर्फ लगाएतका बस्तुहरु उत्पादन संगै विक्रि वितरण गर्न सके आयआर्जनका लागि राम्रो आधार भएको बताए। यो व्यवसायलाई निरन्तर रुपमा गर्न सके बजार पनि रहेको र कच्चा पदार्थ पनि सजिलै पाईने भएकाले यो तालिम पश्चात तालिममा सहभागीले उत्पादन पनि गर्ने विश्वास लिएको त्रिपाठीले बताए।
५ दिन सम्म संचालन हुने तालिममा ३ नं वडाका १४ जना व्यक्ति सहभागी रहेको छ । तालिममा स्थानीय श्रोत पाती, निमपत्ता, घिउकुमारी, सुन्तलाको बोक्रा लगायतका कच्चा पदार्थबाट नुहाउने साबुन, लुगा धुने साबुन, धाडा धुने साबुन, हरपिक लगाएतका सामाग्रीहरु उत्पादन गर्न सिकाईने तालिमको प्रशिक्षक सुस्मीता थापामगरले बताइन ।
ऐरावती गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष पदम बहादुर जिसीको अध्यक्षता, ऐरावती गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहको प्रमुख आतिथ्यतामा उद्घाटन भएको तालिममा वडाका जनप्रतिनीधि, ऐरावती गाउँपालिका योजना शाखा प्रमुख विनोद कुमार त्रिपाठी, प्रशिक्षक सुस्मीता थापा मगर, सुवास तामाङ, वडा नं ३ का वडा सचिव लिलामणी सुनार, उद्यम विकास सहजकर्ता टोप नारायण श्रेष्ठ, वडाका कर्मचारी लगाएतको उपस्थित रहेको थियो । कार्यक्रमको संचालन गाउँपालिका पंजिकरण शाखा प्रमुख सागर रिजालले गरेका थिए ।

